खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको पार्टी कार्यालय आज उदघाटन गरेर शुरु गरिएको छ। उक्त पार्टी कार्यालय तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको बाहुलीबाट पूजा अर्चना गरेर घैयाबारीमा आज उदघाटन गरिएको छ। उक्त पार्टी कार्यालय उदघाटन कार्यक्रममा सभासद नवराज छेत्री लगायत सभासद प्रणाम रसाइली, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, उपाध्यक्ष राजु लामा, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई लगायत अन्यहरू उपस्थित रहेका थिए।

आगामी पञ्चायत चुनावलाई ध्यानमा राखेर पार्टीको सांगठनिक गतिविधिलाई बढ़ाएर लानु तथा समष्टीको जनताको सेवा गर्नलाई उक्त पार्टी कार्यालय उदघाटन गरिएको जानकारी प्राप्त भएको छ। उक्त समष्टी स्तरीय पार्टी कार्यालयमा कार्यालय सचिवको रूपमा बिपन विश्वकर्मलाई चयन गरिएको छ। पार्टी कार्यालय उदघाटन गरेपछि भागोप्रमो तीनधारे महानदी समष्टिको एक सभा पनि सम्पन्न गरिएको छ। उक्त सभालाई सभासदहरू प्रणाम रसाइली, नवराज छेत्री, समष्टीको सभापति राजीव थापा लगायत अन्यहरूले सम्बोधन गरेका थिए। पार्टी कार्यालय उदघाटन साथै सांगठनिक सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले धेरै समयदेखि सोचेको पार्टी कार्यालय आज घैयाबारीमा उदघाटन गरिएको र यसमा पार्टी अध्यक्ष एंव जीटीए चिफ् अनित थापाको मुख्य भूमिका रहेकोले उनलाई समष्टीको पक्षबाट धन्यवाद दिएका छन्।

उनले यो पार्टी कार्यालयबाट समष्टीको जनताको उत्थान र सेवाको लागि कार्य गरिने बताउँदै समष्टीको टिमले यो पार्टी कार्यालयबाट नै आगामी पञ्चायत चुनावको लागि रणनीति तयार गर्ने तथा डाटा संकलन गर्ने पनि बताएका छन्। समष्टि सभापति राजीव थापाले समष्टीको सबैले यो पार्टी कार्यालयमा आएर पार्टीगत सांगठनिक कुराहरू विषयमा कार्यालय सचिवलाई दिने अनुरोध गर्दै उनीमार्फत् सभासद समक्ष जाने अनि विभागीय रूपमा पनि जाने बताएका छन्।