सिलगढ़ी: गायनको क्षेत्रमा अघिबाटै ख्याति अर्जित गरिसकेकी चर्चित गायिका रञ्जिता सुनार अनि लोकप्रिय गायक साइराज खातीको युगल स्वरमा नयाँ गीति भिडियो प्रस्तुति “हाम्रो दार्जीलिङ…” यही २२ मार्चमा यूट्यूबमार्फत लोकार्पण गरिने जानकारी वरिष्ठ गायक-सङ्गीतकार नरवीर रसाइलीले दिएका छन्। यस गीतका शब्दहरू गीतकार-युग्मककार कालूसिंह रनपहेंलीका रहेका छ्न्, जसलाई सङ्गीतले सजाएका छन् “ए माइली”-जस्तो लोकप्रिय गीति एल्बमले ख्याति कमाइसकेका प्रतिष्ठित सङ्गीतकार नरवीर रसाइलीले। यसका संयोजक रहेका छन् प्रसिद्ध सङ्गीतकार राजु सुन्दास। यो प्रस्तुतिलाई सोनिक स्टुडियो खरसाङमा रेकर्डिङ गरिएको छ भने रेकर्डिस्ट छन् उपेन्द्र प्रधान। यसको निम्ति टोलीले पोस्टर पनि जारी गरिसकेको जानकारी सङ्गीतकार रसाइलीले दिएका छन्। पहाड़की रानी दार्जीलिङको प्राकृतिक सौन्दर्यलाई गीतले वर्णन गर्दै दृश्याङ्कन गरिएको यो प्रस्तुति श्रोता-दर्शकलाई प्रिय लाग्नेछ भन्ने टोलीको आशा र विश्वास छ। गीतको शब्द यस्तो छ-
“भन है साइँली, भन है माइली दार्जीलिङ कस्तो छ
दार्जीलिङ शहर सौन्दर्य लहर बैकुण्ठजस्तो छ…..’”