नेपाल: जसपाका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित

00-1-Ramsahaya-Prasad-Yadav-Nepal-new-elected-VP

काठमाडौं: उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादव विजयी भएका छ। शुक्रबार उपराष्ट्रपति चयनका लागि भएको मतदानमा यादव निर्वाचित भएका हुन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत नौ दलीय गठबन्धनमा सहमति नजुटेपछि गठबन्धनबाटै यादव र जनमत पार्टीकी ममता झा गरेर दुईजना उम्मेदवार रहेका थिए। उता प्रतिपक्षी नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार थिए। यादवलाई कांग्रेस, माओवादी, समाजवादी, जसपालगायतका दलको समर्थन रहेको थियो। ३० हजार ३२८ मतभार ल्याएर यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। यादवले शाक्य र झालाई पछि पारेर निर्वाचित भएका हुन्। शाक्यले १६ हजार ३२८ मतभार ल्याएका थिए भने झाले २ हजार ५३७ मतभार प्राप्त गरेका छन्।

निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको थियो। साढे ३ बजेबाट मतगणना गरिएको थियो। उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद (राष्ट्रिय र प्रतिनिधि) र प्रदेश सभाका सांसदहरु मतदाता रहने व्यवस्था छ। संघीय संसद्का एकजना सांसदको मत बराबर ७९ मतभार गणना हुन्छ भने प्रदेश सांसदको एकजना बराबर ४८ मतभार गणना गरिन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले निर्वाचनमा भाग लिएनन्। प्रतिनिधि सभामा राप्रपाका १४ सांसद रहेका छन् भने सातै प्रदेशमा गरेर २८ जना प्रदेश सभाका सांसद रहेका छन्। त्यसैगरी नेमकिपाका प्रतिनिधि सभामा एकजना र प्रदेश सभामा तीनजना सांसद रहेका छन्। संघीय संसदका दुवै सदन गरेर ३ सय ३४ र सातै प्रदेशका गरी ५ सय ५० जना सांसद रहेका छन्। त्यसमध्ये संघीय संसदका सांसदको ३ सय ११ मत र प्रदेश सभा सांसदको ५ सय १८ मत खसेको थियो। मतदानका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा संघीय संसदका सांसद र प्रदेश सांसदका लागि छुट्टाछुट्टै मतदान स्थल निर्धारण गरिएको थियो। वर्तमान उपराष्ट्रपति नन्द बहादुर पुनको दोस्रो पटकको कार्यकाल सकिन लागेकाले त्यसअघि नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन भएको हो। नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई निर्वाचन आयोगले उपराष्ट्रपति पदमा निर्वाचित भएपछि प्रमाणपत्र प्रदान गरिएको छ। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रमाणपत्र प्रदान गरेका हुन्।

 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *