लीलबहादुर क्षत्रीको ‘अतृप्त’ भित्रको मनोविश्लेषणवाद

00-1-Lil-Bahadur-Chettri

उपन्यासकार लीलबहादुर क्षत्री र उनका औपन्यासिक प्रवृत्ति :

१ मार्च, १९३३ मा पूर्वोत्तर भारतको राज्य असममा जन्मिएका लीलबहादुर क्षत्रीले  साहित्यका सबै विधामा कलम चलाएका भए पनि उनी एकजना सफल उपन्यासकारका रूपमा प्रसिद्ध छन्। ६ दशकभन्दा अधिक समयको आफ्नो साहित्यिक जीवनमा उनले बसाइँ (१९५७), अतृप्त (१९६८), ब्रह्मपुत्रका छेउछाउ (१९८६) र प्रतिध्वनिहरू विस्मृतिका (२००४) गरी कुल चारवटा उपन्यास लेखेका छन्। लीलबहादुर क्षत्री आधुनिक नेपाली उपन्यास परम्पराका एकजना बलिष्ठ हस्ताक्षर मानिन्छन्।  चारवटा मात्र उपन्यास लेखेर क्षत्री नेपाली साहित्यजगतमा एउटा विशिष्ट स्थान ओगट्न सफल छन्। उनको पहिलो उपन्यास बसाइँले नै उनलाई लोकप्रियताको शिखरमा पुऱ्यायो। सामाजिक यथार्थवादी धाराको यस उपन्यासले नेपाली समाजमा व्याप्त आर्थिक दुरावस्थाका कारण मुग्लान पस्नुपर्ने अथवा बसाँइ सर्नुपर्ने बाध्यतालाई अघि सारेको छ। पूर्वी नेपालको सानो पहाडी गाउँको सामाजिक पृष्ठभूमिमा सिर्जना गरिएको यो उपन्यास मानिसको जीवनवृतान्त, गास-बास-कपासका लागि गर्नुपरेको सङ्घर्ष, गाउँमा शोषकहरुको अचाक्ली जस्ता विविध कुराहरूलाई कथावस्तु बनाएर घटनाक्रमहरूलाई एउटा सुगठित आख्यानमा उनेर पाठकहरूलाई समाजको यथार्थसँग परिचित गराउन सफल छ।

न्यायको जाँतोमा पिँधिएकाहरूको जीवन सङ्घर्षलाई प्रभावकारी ढङ्गबाट समाजमा सधैँ वरिपरि देखिनेजस्ता पात्रहरूमार्फत् उपन्यासमा जीवन्त पार्नु उनका औपन्यासिक प्रवृत्ति मान्न सकिन्छ

त्यसरी नै उनको दोस्रो उपन्यास अतृप्त फ्रायडेली मनोविज्ञानमा आधारित एक बेजोड मनोविश्लेषणवादी उपन्यास हो। यस उपन्यासमा उपन्यासकार मानव मनका भित्री पाटाहरूलाई फुकाउने प्रयासमा यसका पात्रहरूलाई खेलाउन खप्पिस देखिन्छन्। विजय मल्लको चर्चित मनोविश्लेषणवादी उपन्यास अनुराधाको दाँजोको यो उपन्यास क्षत्रीको पहिलो उपन्यास बसाइँको छायाँमा परेर जति चर्चामा आउनुपर्थ्यो आउन सकेन। ब्रह्मपुत्रका छेउछाउ लीलबहादुर क्षत्रीको तेस्रो उपन्यास हो र यसले उनलाई प्रतिष्ठित साहित्य अकादेमी पुरस्कार दिलायो। क्षत्रीको यो उपन्यास पनि सामाजिक यथार्थवादी उपन्यासकै श्रेणीमा आउँछ र यसमा पनि समाजमा देखापर्ने शोषण-उत्पीडन, वर्गीय भेदभाव, दाल-भात-डुकुका लागि गर्नुपर्ने सङ्घर्ष आदिकै मार्मिक चित्रण पाइन्छ। उनको चौथो उपन्यास प्रतिध्वनिहरू विस्मृतिका उनका आफ्नै पिताको जीवनबाट प्रेरित तथा गुवाहाटीलाई केन्द्र बनाएर पूर्वोत्तरमा नेपालीहरूको बसोबासको ऐतिहासिकतालाई आख्यानात्मक सूत्रमा उनेर लेखिएको एक ऐतिहासिक-जीवनीमूलक उपन्यास भन्न मिल्छ। 

लीलबहादुर क्षत्री उनको बहुचर्चित उपन्यास बसाइँ र साहित्य अकादेमी पुरस्कारबाट सम्मानित अनि चारवटाजति भारतीय भाषामा अनुवाद भइसकेको उपन्यास ब्रह्मपुत्रका छेउछाउले गर्दा एकजना सफल सामाजिक यथार्थवादी उपन्यासकारका रूपमै बढी परिचित छन् र उनलाई यसै थान्कोमा राख्ने पनि गरिन्छ। जनजीवनमा देखिने दुखको मार्मिक उद्घाटन गर्नु, पात्रहरूलाई वर्गीय आधारमा सफलताका साथ प्रस्तुत गर्नु, शोषक-शोषितबिचको वर्ग सङ्घर्ष र त्यसमा शोषितहरूले खेप्नुपरेको शोषण र उत्पीडनको कारुणिक परिणतिलाई मार्मिक ढङ्गले उपस्थापन गर्नु, अनि समग्रतामा अन्यायको जाँतोमा पिँधिएकाहरूको जीवन सङ्घर्षलाई प्रभावकारी ढङ्गबाट समाजमा सधैँ वरिपरि देखिनेजस्ता पात्रहरूमार्फत् उपन्यासमा जीवन्त पार्नु उनका औपन्यासिक प्रवृत्ति मान्न सकिन्छ।  

अतृप्त उपन्यासको सङ्क्षिप्त कथा :

दिल्लीको रेडियो स्टेसनमा काम गर्ने मेघराज आफ्नै जघन्य अतीत र दुष्कर्महरूको अपराधबोधले ग्रस्त छ। आत्मपीडनले गर्दा मनोरोगीजस्तो बनिसकेको मेघराज दाजुसँग घर फर्किन मान्दैन, आफ्नो अपराधबोधकै कारण परिचितहरूसामु मुख देखाउने साहस गर्न नसकेर। आफ्नो मन हलुँगो पार्न उसले आफ्नो विगतलाई जस्ताको तस्तै एउटा आत्मकथामा उतार्छ। आत्मकथा लेखेर सकेपछि ऊ यसलाई दोहोऱ्याएर पढ्न थाल्छ।

जीवनको वास्तविकतालाई अध्ययन नै नगरी अलौकिक कल्पना गर्ने र त्यसलाई यथार्थमा प्राप्त गर्न खोज्दै एउटा तृष्णाले ग्रस्त भएर तृप्तिको खोजीमा भौँतारिएको मेघराजले यस आत्मकथाको नाम पनि अतृप्त नै राखेको छ। कालेबुङमा जन्मिएको मेघराज (लट्टे) ८ वर्षको कलिलो उमेरमै आफ्ना मातापिता र दिदीहरूबाट टाढिएर, पल्टने दाजुसित सिलाङमा एक्लै बस्न बाध्य हुन्छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण सिलाङमा उसको बाल्यकाल फौजी वातावरणमा निम्न मनोवृत्ति भएका सिपाहीहरूकै सान्निध्यमा शिक्षित समाजको सम्पर्कमा आउन नपाई बित्छ र यिनै कारणले उसको मनमा हीनभावना जागृत हुनपुग्छ। यसले विस्तारै उसमा मनोग्रन्थीको रूप लिन्छ अनि उसमा आत्मबल सधैँका लागि हराउँछ। अर्कातिर, नारी संसर्गबाट नितान्त टाढा रहेकाले उसले नारीहरूको वास्तविकता कहिल्यै देख्न वा बुझ्न पाउँदैन। यस्तोमा ऊ आफ्नी जीवनसँगिनीका रूपमा एउटी दैवीय गुणसहितकी अलौकिक नारीको कल्पना गर्न थाल्छ। बी.एससी पास गरेपछि ऊ सिलाङको एउटा सरकारी कार्यालयको जागिरे हुन्छ र एउटी सहकर्मी बङ्गाली युवती रीताको सम्पर्कमा आउँछ। रीतामा उसले आफूले कल्पना गरेकी युवतीको झल्को देखे पनि रीता बङ्गाली सम्प्रदायकी भएकी हुँदा दाजु र समाजको डरले नै ऊ उसको प्रेम प्रस्ताव स्वीकार गर्न सक्तैन। रीताको बिहे अन्तै हुने भएपछि ऊ अफिस आउन छोड्छे।    

उपन्यासका सबै प्रमुख चरित्रहरूलाई कुनै न कुनै प्रकारले मनोरोगी बनाएर उपन्यासकारले सम्पूर्ण कथानकलाई मनोविश्लेषणवादको प्रयोगशाला बनाएका छन्

यस्तैमा एकदिन मेघराज एकजना साथीको करमा केटी हेर्न गुवाहाटी आउँछ। केटी असमको कुनै गाउँका एकजना धनी महाजनकी छोरी हो भन्ने जानेर उसमा आफूले चिताएजस्तो रूप-गुण छैन भन्ने पूर्वाग्रह बनाएको मेघराजले केटीको मुखतिर नहेरी उसलाई अस्वीकार गरिदिन्छ। मानसिक द्वन्द्वमा पिरोलिइरहेको मेघराजले अन्तत: दाजुले ठिक पारेकी मेजर साहबकी छोरी सुधासँग बिहे गर्ने प्रस्ताव स्विकार्छ र बिहे गर्छ। एकजना मेजरको सम्भ्रान्त परिवारमा एक्लो सन्तानका रूपमा हुर्किएकी सुधामा उसले कुनै प्रकारको स्त्रीसुलभ गुण नपाउँदा ऊ झन् मानसिक वेदनामा पर्छ। आधुनिका सुधाले पनि एउटी नवविवाहितामा हुनुपर्ने सामान्य व्यवहारिकतासम्म नदेखाउँदा लट्टे अझ धेरै पीडित हुन्छ र उसको वैवाहिक जीवन केवल एउटा औपचारिकता मात्र बन्नपुग्छ। ऊ विरक्तिएर साँझ साँझ आफ्नो घरमुनिको कुल्लीहरूको घर जान थाल्छ। कुल्ली गुमानेकी रूपवती स्वास्नीप्रति ऊ आकर्षित हुँदै जाँदा एकदिन दुर्घटनामा परी गुमाने मर्छ अनि उसकी स्वास्नी पनि अर्कैसित पोइल जान्छे। यसरी सुधासँग प्रेमहीन दुईबर्से वैवाहिक जीवन बिताएपछि ऊ एम.एससी पढ्न भनी जागिर छोडेर गुवाहाटी आउँछ।

मेघराज मानसिक तनावबिच गौहाटी विश्वविद्यालयमा पढिरहँदा एकदिन पुरानो मित्र ईश्वरीसित भेट हुन्छ। ईश्वरीको घर जाँदा उसले त्यहाँ उसकी श्रीमती जुनेलीलाई भेट्छ जो अरू कोही नभएर उसले गुवाहाटीमा हेर्न आएर अस्वीकार गरेकी युवती हुन्छे। जुनेलीको रूप सौन्दर्य देखेपछि उसलाई आफ्नो पहिलेको निर्णयमा पछुतो हुन्छ। ईश्वरीको घरमा बाक्लै आवत-जावत गर्न थालेपछि दुवैमा लसपस बढ्छ अनि दुवै भागेर काठमाडौं पुग्छन्। मेघराजले त्यहाँ सानोतिनो जागिर गर्छ र दुवै एउटा कोठा लिएर बस्न थाल्छन्। तर जुनेलीसित पनि विस्तारै ऊ अघाउँदै जान्छ। सुधाप्रति गरेको अन्याय र घरको सम्झनाले उसलाई सताउँछ भने जुनेलीको व्यवहार र एकजना परिचित चन्द्रमानसितको उसको घनिष्टताले उसको मनमा जुनेलीप्रति घृणा उब्जाउँछ। अन्त्यमा मेघराज जुनेलीलाई काठमाडौंको कोठामा एक्लै छोडेर सिलाङ जान भनी हिँड्छ। गुवाहाटी पुगेपछि आफ्नो अपराधबोधले उसलाई सिलाङ जाने हिम्मत हुँदैन अनि ऊ तिनसुकियातिर लाग्छ। रेलगाडीमा भेटिएको भूपालसँग परिचय गर्दै डिग्बोई पुगेर उसैको सहायतामा एउटा स्कुलमा पढाउन थाल्छ। त्यहीँ ट्युसन पढाउँदै गर्दा दिव्या नामक युवतीको सम्पर्कमा आउँछ। दिव्यासँग निकै नजिकिँदै गएको मेघराजसँग दिव्याको बिहेको कुरा चलिरहेको हुन्छ कि हठात् त्यहाँ ईश्वरी आइपुग्छ अनि उसको विगतका सबै कुरा खोलिन्छन्। ईश्वरीले जुनेली फेरि आफूसँगै आएको कुरा पनि बताउँछ अनि अब कुनै केटीको जीवन बर्बाद नगर्न भन्छ। 

मेघराज त्यहाँबाट पनि भाग्छ अनि संन्यास लिने विचारमा बद्री केदारतिर लाग्छ। यात्राको क्रममा उसले रेलगाडीमा रीताको लोग्ने र सानो छोरालाई भेट्छ र उनीहरूबाट रीताले मानसिक तनावका कारण आत्महत्या गरेको थाहा पाउँछ। यस खबरले उसलाई झनै दुखी तुल्याउँछ र उसले रीताको मृत्युको कारण पनि आफूलाई नै ठहऱ्याउँछ। हरिद्वारमा उसको एउटा धर्मशालामा एकजना साधुको टोलीमा संन्यासिनीको भेषमा रहेकी सुधासँग जम्काभेट हुन्छ तर सुधाले उसलाई नचिनेजस्तो गरेर तर्किन्छे। सुधा संन्यासी हुनुमा पनि उसले आफूलाई जिम्मेवार मान्छ र उसको मानसिक पीडा झन् थपिन्छ।

मेघराज हरिद्वारबाट दिल्ली आउँछ अनि रेडियो स्टेसनमा अस्थायी जागिर गर्न थाल्छ। उसको सुइँको पाएर दाजु लिन आउँदा पनि ऊ आफ्नो अपराधबोधका कारण घर जान मान्दैन अनि मानसिक पीडा र अपराधबोध लिएर ऊ त्यहीँ बस्छ। 

अतृप्तको संरचना :

अतृप्त उपन्यासमा तृष्णातुर नायक मेघराज जीवनबाट तृप्तिको खोजीमा एकदेखि अर्को जघन्य कार्यमा हामफाल्दै हिँडेको अनि यस क्रममा ऊबाट हुनगएका घटनाहरूलाई पूर्वदिप्तिका रूपमा प्रथम पुरुष दृष्टिबिन्दुमा अभिव्यक्त गरिएको छ। मनोविकारले ग्रस्त मेघराजको आत्मकथनबाट सुरु भएर यो उपन्यास उसैले आफ्नो लेखनमा उतारेको आत्मजीवनीका विभिन्न घटनाक्रमहरूसित अघि बढ्दै जहाँ शुरु भएको थियो त्यहीँ आएर टुङ्गिन्छ। मेघराजका मनोविसङ्गति, नारीप्रतिका उसका कुण्ठा, मानसिक उथलपुथल, आफ्नी प्रथम प्रेयसी रीता, विवाहिता पत्नी सुधा अनि उसले भगाएर लगेकी जुनेली र उसले पढाएकी युवती दिव्यासँगको उसको सम्बन्ध र उनीहरूलाई दिएको धोका, यी चारवटी नारीहरूको जीवन बरबाद गरेको अपराधबोध र पश्चात्तापजस्ता कुराहरूलाई यसमा क्रमबद्ध रूपमा अघि बढाइएको छ। कुनै नाम नदिई दसवटा खण्डमा विभाजित गरिएको उपन्यास कुल १५० पृष्ठमा आबद्ध छ। २ देखि ३२ पृष्ठसम्म लम्बाइ रहेका खण्डहरू रहे पनि कुनै खण्ड पनि पट्यारलाग्दा छैनन्। उपन्यासमा वर्णित घटनाक्रमको सिलसिलाले पाठकलाई बाँधेर राख्न सक्षम छ र घटनाहरू एकपछि अर्को गरी घट्दैजाने भएकाले पाठकको मनमा ‘अब के हुन्छ’ भन्ने कौतूहल बनिरहन्छ। अतृप्त मझौलो आकारको र छरितो संरचना भएको उपन्यास भएकाले प्राय एकै बसाइमा सिद्धिने खालको छ। उपन्यासमा भएका घटनाक्रमहरू त्यति धेरै नाटकीय नभए पनि मानव मनका उथलपुथलहरू सशक्त पाराले वर्णन गर्न सफल छन्। 

अतृप्त उपन्यासको नायक मेघराज यौनअतृप्तिका मनोविकारले ग्रस्त छ र यही उपन्यासको आधार बनेको छ। मेघराजको यौनलिप्सा, विसङ्गति, अतृप्ति, शून्यताबोध र अस्तित्वको प्रयासमा गरेको पलायन छ। यसमा आएका सबैजसो नारी पात्र पनि कुनै न कुनै मनोविकारले ग्रस्त छन् अथवा हुनपुगेका छन्। रीता, सुधा, जुनेली र दिव्यासँगका मेघराजका अपुरा र अतृप्तिदायक सम्बन्धहरूकै कारण उपन्यासका घटनाक्रमहरूमा महत्त्वपूर्ण मोड आएका छन् र यसबाट उसमा उत्पन्न मानसिकताको सबल उद्घाटनले गर्दा उपन्यासको कथानक व्यवस्थित बनेको छ। उपन्यासको सम्पूर्ण कथानक मेघराज स्वयम्‌ले वर्णन गरेको छ र यो एउटा सरल आत्मकथाजस्तो पनि लाग्छ किनभने यसको पहिलो र अन्तिम खण्डमा मात्र वर्तमानकालिक क्रियाको प्रयोग गरिएको छ र अरू खण्डहरू भूतकालिक क्रियामा छन्। पहिलो र अन्तिम खण्डबाहेक घटनाहरू प्रायजसो नै कालक्रमिक छन्। 

अतृप्तका अतृप्त चरित्रहरूको मनोविश्लेषण :

अतृप्त उपन्यासका मुख्य चरित्रहरू उपन्यासकारको मनोविश्लेषणवादी उद्देश्यलाई प्रस्ट्याउनका लागि तयार पारिएका हुनाले कुनै न कुनै मनोविकारले ग्रस्त छन् वा घटनाक्रमहरूबाट विकारग्रस्त बनाइएका छन्। फ्रायडेली मनोविश्लेषणवादमा आधारित यस उपन्यासका चरित्रहरू दमित कामवृत्तिबाटै सञ्चालित छन्। उपन्यासका चरित्रहरूका कृयाकलापहरू चेतन, अर्धचेतन र अचेतन मनका आपसी तानातानमा जेलिएका छन्। घटनाक्रमहरू अचेतन मनमा दमित इच्छा, आकाङ्क्षा र सुषुप्त वासनाहरूबाट निर्देशित छन्। इद, अहम र पराहमबिचको परस्परको द्वन्द्व र दमनले गर्दा उत्पन्न भएका मनोविकारहरूले सबैजसो चरित्र मनोरोगी छन्। मातृरति ग्रन्थी, पितृरति ग्रन्थी, स्वपीडन र परपीडन ग्रन्थी, हीनताबोध र उच्चताबोधजस्ता मनोविकारहरू नै उपन्यासका कार्य-कारण बनेका छन्। 

उपन्यासको नायक मेघराज नै सम्पूर्ण कथानकलाई डोहोऱ्याउने चरित्र हो र ऊ नै सबैभन्दा बढी मनोविकारले ग्रस्त छ। उसका वरिपरि खडा गरिएका अरू महत्त्वपूर्ण चरित्रहरूमा रीता, सुधा, जुनेली र दिव्या पर्छन् जो मेघराजकै कारण कुनै न कुनै मनोविकारले ग्रस्त हुनपुग्छन्। उपन्यासमा वर्णित मेघराजका दाजु, उसका साथीहरू ईश्वरी, वीरे, चन्द्रमान, भूपाल, गुमानेकी स्वास्नी आदि कथानकलाई आघि बढाउने सहायक गौण पात्र हुन्। मेघराज उपन्यासको नायक वा कथयिता एकजना उच्च शिक्षित युवक हो जो आफ्ना दमित कामवृत्तिकै कारण मनोविकारले ग्रस्त छ र आफूले गरेका जघन्य कार्यहरूको अपराधबोधका कारण पलायनवादी बनेको छ। ८ वर्षको कलिलो उमेरबाटै दाजुको कडा अनुशासन र पल्टनका सिपाहीहरूबिच हुर्किएको र सानैमा आमा र दिदीहरूबाट अलग्गिएको मेघराजमा स्वाभाविक कामवृत्तिहरू सहज रूपमा विकसित हुनपाउँदैनन् र दमित यौनवृत्तिहरूका कारण उसमा विपरीत लिङ्गीलाई लिएर मनोविकार उत्पन्न हुन्छ। आफ्नी प्रेयसी वा जीवनसङ्गिनीका रूपमा अलौकिक रूप-गुणले युक्त एउटी शिक्षित र आधुनिका नारीको कल्पना गर्छ जो उसको अचेतन मनमा एउटा कहिल्यै नमेटिने छवि बनेर रहन्छ। दाजुको कठोर अनुशासन र हकारपकारमा एउटा अभावग्रस्त परिवेशले मेघराजमा आत्मबलको सधैँ अभाव हुन्छ र उसमा हीनताबाध र दोधारे मनोवृत्ति पलाउँछ। त्यसबेलाको समाजमा बी.एस्सीसम्म पढेको ऊ समाजका लागि एउटा आदर्श देखिए पनि भित्रभित्रै खोक्रो हुन्छ, आत्मबलको अभाव, दमित यौनेच्छा र कुण्ठा बोकेर। विवाहका प्रस्ताव आउँदा पनि आफ्नो अचेतनभित्र घर बनाएकी आदर्श नारीको कल्पित छवि र आत्मबलको अभावले उत्पन्न हीनताबोधसँग सामञ्जस्य मिलाउन नसकेर ऊ विवाह गर्न चाहँदैन। बङ्गाली युवती रीतामा उसले आफ्नो कल्पनाकी नारीको छवि देखे पनि रीतासितको प्रेम सम्बन्धलाई परिणतिमा पुऱ्याउने साहस गर्न सक्तैन, आफ्नै मनोग्रन्थीहरूका कारणले। जुनेलीलाई ऊ आफ्नो मनभित्रको खोक्रोपनलाई लुकाउन आफूभित्र विकसित गराएको उच्चताग्रन्थीकै कारण एउटा पूर्वाग्रह राखेर मुखसम्म नहेरी अस्वीकार गरिदिन्छ। मनभित्र गढेको दमित यौनवृत्तिले गर्दा शून्यतामा परेको मेघराजले सुधासँग विवाह गरे पनि आफूले कल्पना गरेकी आदर्श नारीछविका एकदम विपरीत अदम्य पुरुष प्रवृत्ति सुधामा देख्दा ऊ झन् विक्षिप्त हुन्छ, चरम निराशामा भासिन्छ। ऊभित्रको मनोविकारले अब परपीडन ग्रन्थीको रूप लिन्छ अनि सुधासँग प्रतिशोध लिनकै लागि अनि उसलाई पीडा दिनकै लागि ऊ राती अबेरसम्म गुमानेको झोपडीमा बिताउँछ र अन्त्यमा उच्च शिक्षाको निहुँ पारेर ऊ गुवाहाटीतिर लाग्छ, त्यस नैराश्यपूर्ण परिवेशबाट उम्कन अनि सुधालाई पीडा दिन। गुवाहाटीमा जुनेलीको रूप-सौन्दर्य र चञ्चलपनले उसको सुषुप्त यौनवृत्तिलाई फेरि जगाउँछ र ऊसित लहसिन्छ। जुनेलीलाई भगाएर काठमाडौं पुऱ्याए पनि छिट्टै जुनेलीबाट उसको मन अघाउँछ। यसमा पनि उसको मनभित्र घर गरेको अलौकिक नारीको छवि अनि उसको मनमा गाडिएको अपराधबोध र असुरक्षाको भावना मुख्य कारक बन्छन् र ऊ त्यहाँबाट पलायन गर्छ। घर जान भनेर हिँडेको मेघराज आफ्नै अपराधबोधका कारण घर जाने साहस बटुल्न सक्तैन, यसबाट ऊ काँतर र पानीमरुवा भएको प्रस्ट हुन्छ। डिगबोईमा उसले पढाउनथालेकी दिव्यासँग पनि उसले घनिष्ठता कायम गर्छ, तर यसो गर्दा उसलाई आफूले रीता, सुधा र जुनेलीसित गरेको व्यवहारले पोल्छ र ऊ धेरै अगाडि बढ्नसकिरहेको हुन्न। डिगबोईबाट पलायन गरेपछि रेलगाडीमा रीताको परिवारसितको भेट ऊमाथि अर्को बज्राघात बनेर आउँछ। रीता आफ्नै कारणले आत्महत्याजस्तो चरम कदम उठाउन पुगेकी भन्ने थाहा पाएपछि मेघराजभित्रको अपराधबोध झन बढ्छ अनि ऊ मनभित्र दन्किरहेको पश्चात्तापको ज्वाला मेटाउन ईश्वरको शरणमा जान चाहन्छ। बद्री केदारतिर जाने क्रममा हरिद्वारमा संन्यासीहरूको यौन-व्याभिचार देखेर मेघराजलाई धर्म-कर्म र आध्यात्मबबाट पनि मोहभङ्ग हुन्छ, संन्यासभन्दा त सांसारिक जीवन नै उसलाई श्रेयस्कर लाग्छ। फेरि त्यहीँ कतै उसले संन्यासिनीका रूपमा सुधालाई भेट्छ, उसले उसलाई देखेर पनि नदेखेझैँ गर्दा मेघराजलाई झन ठुलो अपराधबोध हुन्छ। ऊ भौतारिँदै चरम मानसिक पीडा बोकेर दिल्लीमा रेडियो स्टेसनमा काम गर्न थाल्छ। यसरी बाल्यकालदेखिको अतृप्त यौनवृत्ति मेघराजमा उसले तृप्ति प्राप्त गर्न गरेका तमाम प्रयासहरूसित झन झन झ्याङ्गिँदै जान्छन्, ऊ सदाको अतृप्त नै रहन्छ।

उपन्यासकी नारी पात्र रीता एउटा संस्कारवान् बङ्गाली परिवारकी युवती हो र एउटी आदर्श नारीमा हुनुपर्ने गुणहरू उसमा छन्। आफ्नो पहिलो प्रेमी मेघराजबाट तिरस्कृत भएपछि उसले परिवारको इच्छाबमोजिम एकजना इन्जिनयिरसँग विवाह गरेर एउटा सन्तानलाई जन्म दिइसक्ता पनि पहिलो प्रेम बिर्सनसकेकी हुन्न। यसले गर्दा मेघराजप्रति रहेको अतृप्त यौनेच्छाका कारण उसमा आत्मपीडन रतिको जन्म हुन्छ र सन्तानलाई हुर्काइसकेपछि ऊ क्षयरोगले ग्रस्त भएर आत्महत्या गर्छे। 

एकजना फौजी अधिकारीको सम्भ्रान्त परिवारमा एक मात्र सन्तानका रूपमा जन्मिएर फौजी रवाफ र पाश्चात्य रहनसहनमा हुर्किएकी सुधामा परिवेशको गहिरो छाप छ। छोराका रूपमा हुर्काइएकी सुधामा स्वाभाविक नारी सुलभ गुणको नितान्त अभाव छ र उसमा पौरुषीय गुण भरिएको छ। एउटी नारीमा हुनुपर्ने स्वाभाविक यौनताको आभाससम्म मेघराजले नदेख्नुको कारण पनि यही प्रबल पौरुषता नै हो। आफ्नो यौनता विपरीतको प्रवृत्तिकै वशिभूत भएर ऊ लोग्नेलाईसम्म आक्रमण गर्न झम्टिन्छे। आफ्नो पारिवारिक पृष्ठभूमिकै कारण उसमा आफ्नो लोग्नेलाई समेत आफ्नो मातहतमा राख्ने र आफ्नो वर्चस्व कायम गर्ने प्रवृत्ति भएकै कारण ऊ मेघराजको अपेक्षा पुरा गर्न असमर्थ छे। आफ्ना यिनै विकारहरूका कारण लोग्नेद्वारा छोडिएपछि ऊ संन्यासिनी बनेर आफ्नो जीवनको निस्सारता र शून्यताको क्षतिपूर्ति गर्न खोज्छे।

अर्कातिर उपन्यासकी अर्की प्रमुख चरित्र जुनेली आफ्नो रूप-यौवनलाई लिएर आत्मरतिमा मख्ख छे। उसले मेघराजलाई देखेपछि उसमा मेघराजले आफूलाई अस्वीकार गरेर उसको आत्मरतिमाथि गरेको प्रहारको प्रतिशोध लिन तम्सिन्छे। ऊ यस ज्वालामा यसरी बल्छे कि उसले आफ्नो सुखी गृहस्थी जीवनलाई पनि धरापमा हालेर मेघराजसित भाग्छे। मेघराजबाट आफ्नो रूप-यौवन तिरस्कृत हुनुपरेको कुराले उसको अहम् प्रहृत भएको छ र यस कुराले उसको मनलाई यति धेरै व्यथित पारेको छ कि उसले त्यसैलाई हतियार बनाउँछे। जुनेलीको मनभित्रको प्रतिशोधको ज्वाला यत्तिले मात्र शान्त भएको छैन भन्ने कुरा उसले निद्रामा गरेका दाँत किट्नेजस्ता क्रियाबाट पनि प्रकट हुन्छ। मेघराजलाई पीडा दिनकै लागि ऊ चन्द्रमानसित निकटता बढाउँछे र जानी जानी मेघराजको पौरुषत्वलाई ललकार्छे। यसरी जुनेली पनि एउटा अतृप्त मनोलिप्साले सञ्चालित पात्रका रूपमा उपन्यासमा वर्णित देखिन्छे। 

अतृप्त उपन्यासकी चरित्र दिव्या भर्खर यौवनमा पाइला टेकेकी युवती हो जो मेघराजको संसर्गमा आउँछे अनि उसमा प्रेम अथवा भनौँ यौनभावना अङ्कुरित हुँदै गर्दाको अवस्थामा मेघराजद्वारा छोडिन्छे। उपन्यासमा उसको भावी जीवनको उल्लेख नभए पनि ऊ सदाका लागि एउटा अतृप्तिमा बाँच्न बाध्य हुनेछ भन्ने आभास पाउन सकिन्छ। त्यसरी नै कुल्लीहरूको जमातकी गुमानेकी स्वास्नी रूपवती भए पनि ऊ आफ्नो वर्गीय स्तरअनुरूप आफ्नो जीवन धान्नकै लागि पुरुषको आश्रय लिन बाध्य छे। तर लोग्ने मरेपछि भने आफ्नो यौवनकै बलमा ऊ पनि नयाँ एउटा सहारा खोज्न सफल हुन्छे र यसमा उसको यौनतृप्तिभन्दा पनि बाँच्नकै लागि पुरुषको छत्रछायाँको आवश्यकताले प्राथमिकता पाएको हुन्छ।  

अतृप्तको पर्यावरण :

लीलबहादुर क्षत्रीको अतृप्त उपन्यासको मूल पृष्ठभूमि पूर्वोत्तर भारत हो भने यसको कथानक दिल्ली, काठमाडौं, बद्री-केदार-हरिद्वारसम्म विचरण गर्न पुगेको छ। उपन्यासमा पूर्वोत्तर भारत विशेषगरी सिलाङमा नेपालीहरूको बसोबास, उनीहरूको जीवनस्तर, नेपाली समाजमा त्यसबेला रहेको वर्ग-विभाजन, गुवाहाटी शहर र असममा नेपालीहरूको पेशा र जीवनी आदि कुराहरूको वर्णन यथार्थ रूपमा प्रस्तुत गरिएको छ। उपन्यासमा वर्णित समय मेघराज ८ वर्षको हुँदादेखि ऊ २८-३० वर्षको हुँदासम्म कुल २०-२२ वर्षको अवधिको छ। यस उपन्यासले प्रारम्भदेखि नै मूल चरित्र मेघराजको अतृप्त मनोदशाको उजागर गर्न थाल्छ र उसमा पलाएको यौन-मनोवृत्ति र त्यसका कारण उत्पन्न हुने घटनाक्रमका कारण एकखालको विसङ्गतिपूर्ण वातावरण पाठकका मनमा आरोप गरिरहन्छ। आफ्नो दमित यौनवृत्तिका कारण मनोरोगी बनेर ठाउँ ठाउँ भौँतारिएको मेघराजसँगै उपन्यासले पाठकलाई विभिन्न ठाउँ डुलाउँछ अनि अन्त्यमा जीवन सधैँ सारहीन शून्यताबाहेक केही रहेनछ भन्ने भावना आरोप गराउँछ। 

उपसंहार: 

लीलबहादुर क्षत्रीको यो उपन्यास उनका अरू तिनवटा उपन्यासभन्दा निकै फरक छ, विषयवस्तुका साथै प्रस्तुतिमा पनि। बसाइँको छायाँमा परेर खासै चर्चामा आउन नपाएको गुनासो त स्वयम् उपन्यासकारले पनि बेला बेला व्यक्त गरेकै हुन् भने यसलाई उनले आफ्नो सबैभन्दा प्रिय कृति पनि बताउँछन्। फ्रायडेली मनोविश्लेषणवादमा लेखिएको यो उपन्यास मानव मनका विभिन्न तत्त्वहरूद्वारा कसरी जीवन सञ्चालित हुनेगर्छ भन्ने धारणालाई बोकेर अघि बढेको छ। ‘मान्छेका सम्पूर्ण क्रियाकलापहरू कामवृत्तिकै प्रेरणाबाट सञ्चालित हुन्छन्’ भन्ने फ्रायडेली अवधारणालाई आत्मसात् गरेको यो उपन्यास नेपाली मनोविश्लेषणवादी उपन्यास परम्पराको एउटा उत्कृष्ट कृति हो भनेर ठोकुवा गर्न सकिन्छ। उपन्यासमा रहेका चरित्रहरूमा बालककालबाटै मानिसमा स्वाभाविक रूपमा रहिआउने कामवृत्ति दमित हुँदा उसमा उत्पन्न हुने विभिन्न ग्रन्थीहरूका कारण उद्भव भएका मानसिक विसङ्गति, दमित इच्छाहरूका कारण मानव मनका चेतन र अचेतन अनि ‘इद’ र ‘इगो’ का बिच चल्ने द्वन्द्वका कारण जीवन भड्खालोमा पर्ने स्थिति, आर्थिकलगायत जीवनका लागि अपरिहार्य अन्य कुराहरूको अभावले उत्पन्न हुने हीनताबोध र त्यसको क्षतिपूर्तिका लागि व्यक्तित्वमा आउने विसङ्गतिजस्ता फ्रायडेली मनोसिद्धान्तका अनेक तत्त्वहरू प्रबल रूपमा पाइन्छन्। उपन्यासका सबै प्रमुख चरित्रहरूलाई कुनै न कुनै प्रकारले मनोरोगी बनाएर उपन्यासकारले सम्पूर्ण कथानकलाई मनोविश्लेषणवादको प्रयोगशाला बनाएका छन्। मेघराजको कुण्ठित यौनेच्छा र त्यसले उसको मनमा गाडिएको आदर्श नारीको अतृप्त चाहनाले उसमा बन्न गएको मनोविकारको उद्घाटन गर्दै उपन्यासकारले कथानकभित्र अन्य चरित्रहरू खडा गराएका छन् जो पनि मनोरोगी नै छन्। उपन्यासका सबै चरित्र नै आफ्नो जीवनबाट तृप्ति खोजिरहेका छन् तर कतै नभेटेर अतृप्त नै रहेका छन् र यसरी उपन्यासकार यस उपन्यासको शीर्षकको सार्थकता प्रतिपन्न गर्न सफल छन्। कथानक र चरित्रहरूको प्रकृतिले शीर्षकको सार्थकता वहन गरेको छ। 

सन्दर्भसूची :

क्षत्री, लीलबहादुर (वि.सं २०२६) अतृप्त, काठमाडौं, साझा प्रकाश।

बराल, कृष्णहरि र नेत्र एटम (वि.सं. २०५६) उपन्यास सिद्धान्त र नेपाली उपन्यास, काठमाडौं, साझा प्रकाशन।

कँडेल, घनश्याम (वि.सं. २०५५) नेपाली समालोचना, काठमाडौं, साझा प्रकाशन।

नेपाल, खेमराज (२०२१) पूर्वोत्तर भारतको नेपाली साहित्यको इतिहास, नयाँ दिल्ली, साहित्य अकादेमी।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *