होली परम्परा :
फागुन शुक्लपक्ष अष्टमीदेखि पूर्णिमासम्म परस्परमा रङ छ्यापेर वा फागु दलेर आनन्दले मनाइने उत्सवलाई होली भनिएको पाइन्छ। होली भारतको गाङ्गेय क्षेत्रका लागि प्राचीन पर्व हो। वसन्त ऋतुमा हर्षोल्लाससित मनाउने हुनाले यसलाई वसन्तोत्सव तथा काम-महोत्सव पनि भनिएको पाइन्छ। प्राचीन कालमा यो विवाहित महिलाहरूद्वारा वसन्त ऋतुमा परिवारको सुख-समृद्धिका लागि पूर्णचन्द्रको पूजा गर्ने परम्परा थियो। बौद्ध कालमा सुत्त संकलन भएको धम्मपद उत्सव भयो। वैदिककालमा यस पर्वलाई नवात्रैष्टि यज्ञ भनिन्थ्यो। त्यस समय खेतका अन्न यज्ञमा दान गरेर प्रसाद लिने विधान थियो। अन्नलाई होला पनि भनिन्छ, यसैबाट यसको नाम होलिकोत्सव भएको थियो। अन्नदान पर्व होली भयो। होलिकाको कथा धेरैपछि जोड़िएको हो।
पालि साहित्यमा होला हरियो चना हो, हेला भनेको पमाद (प्रमाद/मनोरञ्जन) हो। हेला अर्थात् हे प्रमाद गर्ने। प्रमादयुक्त खेल खेल्ने अर्थात् धुलो उडाएर वा हिलो छ्यापेर प्रमाद गर्नेहरूलाई बुद्धले अपमाद उपदेश दिएका छन्। शक सम्वतको श्रमणहरूको मास श्रावणदेखि त्रिपिटक अभ्यास गरी धम्म बचाउने रक्खा सुत्त (रक्षा सूत्र) लिई सुत्त (सुक्त) सङ्ग्रह गर्ने काम सात मासपछि फाग मासमा पूरा हुँदछ। बुद्धको महापरिनिर्वाणपछि पहिलो सङ्गतिदेखि रक्खा सुत्त लिई सुत्तहरू संकलन गर्नु सात मास लागेको सङ्केत फग्गु हो। पालिमा फग्गु भनेको उपवास वा अल्पाहार हो। अल्पाहारको सूत्र लिई उपासनामा लागेको मास फग्गुन हो, पछि संस्कृतमा फाल्गुन भयो, नेपालीमा फागुन। उपासनामा लाग्नेहरूले अल्पाहार गर्नू भनिन्छ। फागुनमा मनाइने यो पर्व धम्मपद उत्सव हो। बङ्गलुरू र दिल्लीका महाबोधि सोसायटीमा धम्मपद उत्सव मनाउँदछन् भने यस दिनको पर्व पारेर भारतका कतिपय राज्यमा नवयान बौद्धहरूले बौद्ध धर्म स्वीकार गर्नेहरूलाई दीक्षा दिँदछन्।
संस्कृत साहित्यमा होलिकोत्सव वर्णन एउटा रोचक विषय छ। श्रीमद्भागवत महापुराणमा रसहरूको समूह रासको वर्णन छ। श्रीहर्षको प्रियदर्शिका र रत्नावली तथा कालिदासको कुमारसम्भवम्, मालविकाग्निमित्रम् र ऋतुसंहारम् जस्ता ग्रन्थ वसन्त वर्णनमा अर्पित छन्। भारवि र माघहरूले पनि वसन्त वर्णन गरेकै छन्। चन्दबरदाई (इ. ११४८ – ११९२)-द्वारा रचित हिन्दीको पहिलो महाकाव्य ‘पृथ्वीराज रासो’-मा होली खेल देखाइएको पाइन्छ। हिन्दीका आदिकालीन कवि विद्यापतिदेखि लिएर भक्तिकालीन सूरदास, रहीम, पद्माकर, जायसी, मीराबाई, कबीर तथा रीतिकालीन बिहारी, केशव, घनानन्दहरूको प्रिय विषय होली रहे।
यस पर्वको वर्णन कतिपय पुरातन धार्मिक पुस्तकतिर पनि पाइन्छन्। यिनीहरूमा प्रमुख छन् जैमिनीको पूर्व मीमांसा-सूत्र र कथा गार्ह्य-सूत्र। नारद पुराण र भविष्य पुराणजस्ता पुराणका प्राचीन हस्तलिपि तथा ग्रन्थतिर पनि यस पर्वको उल्लेख भएका कुरा इतिहासकारहरूले गरेका पाइन्छन्। मोगल र अङ्ग्रेजको सन्धिकालदेखि रानी भिक्टोरियाको राज्याभिषेकसम्म वर्णन भएको भविष्य पुराणले होलीमा अश्लिलतालाई पनि छुट दिएको छ।
कति अन्वेषकहरूले विन्ध्य क्षेत्रको रामगढ़ नामको ठाउँमा इसाभन्दा ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि वसन्तोत्सवबारे सूचना भएको संकेत दिएका छन्। संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय रहिआएको थियो भने मध्यकालमा मुसलमान वर्चस्व भएको बेला रीति कविहरूले फागु पर्वलाई हिरण्यकशिपुकी बहिनी होलिका जलेकी तर प्रह्लाद नजलेको पुराणको कथासित मिलाए। कति कविले कृष्ण र गोपिनीहरूमाझ होली खेल भएको कथा जोड़े।
सुप्रसिद्ध इस्लामी पर्यटक अलबरूनी (९७३-१०४८)-ले आफ्नो ऐतिहासिक यात्रा संस्मरणमा होलिकोत्सवको वर्णन गरेका छन् तर होली खेलेको चर्चा गरेका छैनन्। उनको वर्णनमा भारतमा दशहरा र रामलीला मनाएको चर्चा पनि छैन। जोरस्ट्री धर्म निमिट्यान्नै पारेर इस्लाम बनेको इरानका इतिहासकार, दार्शनिक, गणितज्ञ र भ्रमणकार अलबरुनीले १०१७-देखि १०२०-सम्म भारत र श्रीलङ्काको भ्रमण गरेका थिए। यिनले आफ्नो मातृभाषा फारसीबाहेक युनानी, सिरियाई, अरबी र संस्कृत पनि जान्दथे। उनी जैन र बौद्ध विहारतिर वा श्रमण धर्म मान्नेहरूकहाँ गएनन् वा ब्राह्मणहरूले लगेनन्।जानपाएका भए भारतका उच्च जातिले आफ्नो ज्ञान अरूलाई दिन संकोच गर्दछन् अनि इतिहास नलेखेर कथा बनाउनमा मात्र रुचि लिन्छन् भनी लेख्नेथिएनन्। भारतीय बालविवाह, सतिप्रथाबारे लेख्ने बरुनीले होलिकोत्सव मनाएको संकेतचाहिँ गरेका छन्।
मध्यकालीन भारतका थुप्रै मुसलमान कविहरूले आफ्ना रचनामा होलिकोत्सव केवल हिन्दूको नभएर मुसलमानहरूका लागि पनि महत्त्वपूर्ण भएको सिद्ध गरेका छन्। सबैभन्दा प्रामाणिक इतिहासको छवि मुगलकालका छन्। अकबरले जोधाबाईसित तथा जहाँगीरले नूरजहाँसित होली खेलेका वर्णन पाइन्छन्। अलवर सङ्ग्रहालयको एउटा चित्रमा जहाँगीरलाई होली खेलिरहेको देखाएको छ भन्छन्। शाहजहाँको पालोमा होलीलाई ईद-ए-गुलाबी वा आब-ए-पाशी (रङ्गका फहरा) भनिए। अन्तिम मुगल बादशाह बहादुर शाह ज़फ़रलाई रङ्ग धसिदिन उनका मन्त्रीहरू जाने गर्दथे भनिन्छ। मध्ययुगीन हिन्दी साहित्यमा दर्शित कृष्ण लीलाहरूमा होलीका विस्तृत वर्णन पाइन्छन्। उनीहरूले होलीलाई कृष्णकथासित जोड़ेर मध्यदेश (मधेश)-को प्रमुख पर्व बनाउनमा सहयोग गरे।
प्रह्लादको कथाअतिरिक्त यस पर्व राक्षसी ढुन्ढी, कृष्ण-गोपिनीको रास तथा कामदेवको पुनर्जन्मसित पनि जोड़िएको थाहा लाग्दछ। कति ठाउँ होलीमा रङ्ग लगाएर, नाचेर-गाएर मान्छेहरू शिवका गणहरूका वेश धारण गर्दछन् तथा शिवको जन्त गएको दृश्य बनाउँदछन्। कति ठाउँ भगवान् श्रीकृष्णले यस दिन पूतना नामक राक्षसीको वध गरेको मान्दछन्। यही हर्षमा गोपिनीहरू र ग्वालाले रासलीला गर्दै रङ्ग खेले भन्ने मान्दछन्।
भक्तपुरे नेवारहरूले होली पुन्हे (होली पूर्णे) भनी दत्तात्रेय मन्दिरअघि भीमसेनको लिङ्ग मानी खाँबो ठड़्याउँछन् र यौनपूजा गर्न श्रद्धालुहरू भेला हुन्छन्। नेवारहरूको भीमसेन भनेको महाभारतका माइला पाण्डव (भीम) होइनन् तर जनजातीय द्यौता ‘भिँ द्य’ (उपकारी देउता) हुन्। पछि लिङ्ग लिई प्रेमपर्वका रूपमा जात्रा निकाल्दछन्। मध्यदेशीय वैष्णवहरूको प्रभावमा आएर वसन्तोत्सव मनाउने काठमाडौँ र ललितपुरका कृष्णपन्थी वैष्णव नेवारहरू अचेल पिच्कारीकै होली खेल्दछन्। बौद्ध नेवारहरूले होली पुन्हेलाई ‘गुहुरू न्यायकेगू’ भनी मञ्जुश्रीरचित भनी चारवटा पवित्र ‘प्रज्ञापारमिता’ ग्रन्थ बोकी जात्रा निकाल्दछन् अनि ठमेलको विक्रमशीला महाविहार पुग्दछन्। नेवारहरूको नेपालभाषामा होलीविषयक थुप्रै गीत छन्। अचेल त यूट्युबमा पनि पाइन्छन्। एउटा प्रचलित गीतचाहिँ यस्तो छ-
‘अबिर इला: लख: छ्वाका,
फागु पुन्हि या होली म्हिति वा:’
यूट्युबमा पाइने अर्को होली गीत यस्तो छ-
होली या मेला मे जुम स्युला,
अबिर भँच्चा साँ त्यै ञाला।
१३औँ शताब्दीदेखि भारतमा बिस्तारै मुसलमान शासन स्थापना हुनथालेपछि इस्लामले अप्नाएको अरबेली पहिरन प्रचार हुँदैआए। शरीर ढाक्नैपर्छ भन्ने बाध्यता नभएको, अङ्ग प्रदर्शन गर्दा अशिष्ट र अभद्र नमानिएको ठाउँ भारतमा जिउ ढाक्नैपर्ने झाम्लाङ-झुम्लुङ लुगा र तार्लाङ-तुर्लुङ गहना लाउनु मुसलमानले सिकाए। कान मात्र छेँड़्न जानेका भारतीयले नाक छेँड़ेर ढुङ्री-मुन्द्री लाउन सिके। हिन्दू देवीहरूलाई पनि लगाइदिए। नारीवादी विचारकहरू नरले नारीलाई पशुलाई झैँ तह लाएर अधीनमा राख्नुपर्दछ भन्ने मानसिकताको प्रतीक नत्था, ढुङ्ग्री, कल्ली हुन् भन्ने मान्दछन्। नारीलाई पशुजस्तै साङ्लीमा राख्नुपर्छ भन्ने प्रतीकात्मक फेशन बसाए। गह्रुङ्गा कल्ली लाउन लगाए। तब नरका लागि नारी सहधर्मी हुनको साटो दासीझैँ बने। त्यत्ति बेलैतिर तुलसीदासले ‘ढोल, गवार, पशु, शूद्र, नारी ये सकल ताड़न के अधिकारी’ लेखे। अतृप्त काम-वासना मध्यकालीन गजल र कवितामा बक्ने भए। तरुण-तरुणी सजिलो गरी भेट्न र बोल्न लजाउनुपर्ने भयो। केटीलाई योग्य सम्झनुको सट्टा भोग्य मात्र सम्झनथाले। केटीबारे दुराग्रहका पूर्वाग्रह टाउकोमा हाले। सजिलो सेक्स साह्रो ठाने। केटीमाथि झम्टिहाल्नुपर्छ भन्ने स्वैरकल्पना (फेन्टासी)-मा मक्ख हुनथाले। वर्षमा दुइ दिन होलीले केही सन्चो पार्दथ्यो। यसरी मध्यकालदेखि दल्ने होलीको महत्त्व बढ्यो।
यसका अतिरिक्त मोगलकालीन केही पुराना चित्र, भित्तिचित्र र मन्दिरका भित्तातिर पनि यस उत्सवका चित्र पाइन्छन्। १६औँ र १७औँ शताब्दीका विभिन्न मन्दिरहरूमा राजा-रानी, दास-दासी सराबरा होली खेलेका चित्र बनाइएको पाइन्छ। त्यस बेलाका राजा र रइसेहरूले कवि र रूपसीहरू पालेरै राखेका हुन्थे। ती कवितामा वर्णित नारीको मांसल सुन्दरताको वर्णनसित होलीको होहोरी पनि जोड़िए। होलीमा हिन्दीका रीतिवादी कविहरूका शृङ्गारिक रचना अझ गाइन्छन्। त्यहाँ नारीहरूको विलक्षण रूप-लावण्यको वर्णन हुन्थे। गीतसहित फागु दलादल गर्न त्यस दिन सङ्कोच गर्दैनथे। राधा कृष्ण गोपिनीहरूको होली छेपाछेप, धसाधस र जिस्काजिस्की भरिएका होली गीतहरूले गर्दा सगुण साकार भक्तिमय प्रेम पत्यारिला भए, तर निर्गुण निराकार भक्तिमय प्रेम कता पुगे कता। मध्यकालदेखि शास्त्रीय सङ्गीतका ध्रुपद, धमार, छोटे-बड़े ख्याल र ठुमरीमा होलीगीत गाइए। बसन्त, बहार, हिन्डोल, काफी आदि राग होलीकै लागि बनिए। आधुनिककालमा बम्बई फिल्म उद्योगले पनि उत्तर भारतका दर्शकहरूलाई ध्यानमा राखेर कति हिन्दी चलचित्रमा होली गीत जोड़ेका उदाहरण छन्। यिनीहरूमध्ये शशि कपूरको उत्सव, यश चोपड़ाको सिलसिला, भी शान्तारामको झनक झनक पायल बाजे र नवरङ्ग इत्यादि उल्लेखनीय छन्।
अचेल होलीविषयक नव सोच देखिन्छन्। गाङ्गेय क्षेत्रको सांस्कृतिक परम्परा जोगाइराख्न होलीमा गाइने गीतहरू जोगाउने गर्दछन्। पर्यावरण चेत जागेकाहरूले पानी जोगाउनू भन्छन्। स्वास्थ्य सचेतहरूले सिन्थेटिक होलीको सट्टा फूलहरूले बनेका पर्यावरण प्रिय रङ्ग चलाउने आग्रह गर्दछन्। रासायनिक रङ्गले प्रतिकूल असर गर्ने हुनाले शरीरका लागि अनुकूल प्राकृतिक रङ्गतिर आकर्षित हुँदैछन्। शालीनहरू होली मिलनमा कोशेली बोकेर परिवार र आफन्त भेट्न जान्छन्। उत्ताउलेहरू तर उद्दण्ड पनि बन्दैछन्।
होलिका कथा विमर्श:
प्रजातान्त्रिक हिन्दू समाजले आफ्ना प्रत्येक पर्वबारे विमर्श गर्नमा छुट दिएकै छ। होलीको पक्ष र विपक्षमा कतिपय विमर्श हुनथालेको छ:
१. होली के जीवित स्त्रीको दहन हो?
२. होलीले के दलित वर्गको पराजय प्रकट गर्दछ?
३. होलीले के संस्कृतिको नाममा विकृति फैलाइरहेको छ?
दलित वर्गका कतिपय विचारकहरूको मतमा हिन्दूका धेरै पर्वमा दलितहरूको दमनको उत्सव मनाइन्छ। आदिवासी विचारकहरू भारतका मूल निवासी विज्ञानमा उन्नत रहेका देखेर आर्यहरूले युक्ति गरी राजपरिवारकै सदस्यलाई कुलपरम्पराविरोधी बनाएको तर्क दिँदछन्। तिनीहरूअनुसार हिरण्याक्ष र हिरण्यकशिपु कुनै राक्षस वा दैत्य थिएनन्, तर शिल्पी मूलनिवासीलाई बनाइएका दलित थिए। ती दलितहरूलाई सधैँ नै विष्णुले छल गरेर मारेका वर्णन पाइन्छन्। अर्कोतिर तथाकथित नारीवादी विचारकहरूले होलिका एउटी नारी भएकी हुनाले जिउँदै जलाइएको वर्णन छ। यसैले होली एकजना जीवित स्त्रीको दहनको उत्सव हो। मध्यदेशमा राजनीतिदेखि संस्कृतिलाई पनि वर्ण वा जातको आधार दिएको पाइन्छ– रक्षा बन्धन ब्राह्मणको पर्व, दशहरा क्षत्रियको, दिवाली वैश्यको र होली शूद्रको पर्व मान्ने चलन पनि छ, तर हुनता चारै वर्ण विराट्कै शरीरका चार अङ्ग हुन् भन्नेहरू पनि छन्। अर्कोतिर खरिफ बाली उठाएको बेला दिवाली र रवि बाली उठाएको बेला होली राखेर खेतालालाई अन्नदान गर्न लाएर ब्राह्मणहरूले खेतालालाई लुट्ने युक्ति बनाए भन्नेहरू पनि छन्। हिन्दीमा होलक भनेको भुटेका चना-मटर पनि हो। होलकबाट होली बनियो भन्नेहरू पनि छन्। आदिवासी जनजातिलाई शूद्र बनाएर शूद्रशासक हिरण्यकशिपुको परिवारदेखि वंशलाई विमुख गराउन ब्राह्मणहरूले पुत्र प्रह्लादलाई मादक पदार्थमा मोहित गराएको कुरो पनि गर्छन्। विज्ञानवादी अनार्य राजालाई निर्बल बनाउन आर्यहरूले छोरो प्रह्लादलाई आफूतिर तानीकन अध्यात्मवादी बनाए अनि विष्णुले युक्ति गरेर बाबु हिरण्यकशिपूलाई परास्त गरेको मान्ने अध्ययन पनि अघि बढेकै छ। बालकृष्ण समको ‘प्रह्लाद’-मा प्रह्लादलाई सानैदेखि नारदले विष (ड्रग) खुवाएर लती कि अनुकूलित बनाएको र त्यसैले गर्दा हिरण्यकशिपुले खुवाउनलाएको विष पचाएको दृश्य देखाइएको छ। ब्राह्मण ग्रन्थहरूले असुर वा राक्षस मानेका पात्र धेरै अनार्य वंशका छन्। आर्यकरण हुनेहरू हुँदैगए, नहुनेहरू विरोधी वा असुर वा राक्षसका रूपमा चित्रित भए। सत्यासत्यता निर्णय हुँदैजाला। हामीलाई समन्वयवादी हुनमै लाभ छ।
कतिपय अतिवादी विचारहरूदेखि जोगिएर तात्त्विक कुरा जान्ने प्रयास गरौँ:
मिथकअनुसार कश्यपका दुईजना पत्नी अदिति र दितिका सन्तान देव र दैत्य थिए। पुराणमा कहीँ पनि यिनीहरू दलित भएका साक्ष्य पाइँदैन। नारी होलिका मात्र हारेकी नभई नर कंश र रावण पनि हारेका छन्, हिरण्यकशिपुको त भुँडी नै च्यातिदिएको छ।
वास्तवमा यी सबै कथा रूपकको माध्यमले रचिएका छन्। यो कुरो प्रत्येक पौराणिक कथामा निरपवाद रूपले प्रयुक्त हुँदछ। त्यस्ता रूपकका आशय ती कथाका पात्रहरूको नाममा लुकेका हुन्छन्। दिति द्वैत बुद्धि हो, सबै समस्याको जरा यही द्वैत बुद्धिमा हुन्छ। द्वैत बुद्धिले विषमतालाई जन्म दिँदछ। यस्तो दोधारे बुद्धि हटे विषमताको भाव पनि समाप्त हुँदछ। यही द्वैत वा भेद दृष्टिको कारणले मानिस लोभ र मोहमा पर्दछ। हिरण्याक्षको अर्थ हो- जसको आँखामा हिरण्य अर्थात् सुन बसेको छ। जसले केवल सुन मात्र देख्दछ। यसै गरी हिरण्यकशिपुको अर्थ हो- सुनको ओछ्यान। हिरण्य भनेको सुन र कशिपु भनेको ओछ्यान। जसको सुनकै शय्या छ ऊ हिरण्यकशिपु। जसको आँखामा सुन बसेको छ वा जसले सुनकै पलङलाई महत्त्व दिन्छ उसको लागि प्रह्लाद (प्रकृष्ट आह्लाद) हुँदैन। त्यस्तालाई प्रह्लादले मन पराउँदैन। प्रह्लाद भनेको प्रकृष्ट आह्लाद हो। प्रकृष्ट (उत्तम) आह्लाद (रमाइलो) त्यत्ति बेला मात्र प्राप्त गर्न सकिन्छ जब स्वर्ण अर्थात् हिरण्यको आकर्षण छाडिन्छ। रोगी वा भोको मान्छे सुनको ओछ्यानमा सुत्दैमा प्रकृष्ट आह्लाद पाउने होइन। सुनको लोभ छोड़े प्रकृष्ट आह्लाद पाइन्छ भन्ने सन्देश प्रह्लादको कथाले दिँदछ। होलिका ममता हो, जसले मानिसलाई हिरण्यको लोभी बनाउँदछ। जब ममता रूपी होलिका जल्दछ तब धनको भोक समाप्त हुँदछ। तब पो हृदयमा प्रकृष्ट आह्लाद उत्पन्न हुँदछ।
होली यसकारण प्रह्लाद (आह्लाद)-को पर्व हो। रङपानी नै छेप्नुपर्छ भन्ने करकाप पनि छैन। विचार पो रङ्गीन हुनपर्दछ। छुवाछूत, शोषण, वैमनस्यता आदिबाट उठोको इन्द्रधनुषी अभिवादन समाजले चाहेको हुन्छ। अपसंस्कृतिले ल्याएको विकृतिलाई हटाउने प्रयास गर्नुपर्दछ। संकुचित समाजमा पनि यस दिन अत्यन्त बहिष्कृत श्वपच (चाण्डाल)-को समेत स्पर्शको विधान शास्त्रमा पाइन्छ। प्रेम बाँडे प्रह्लाद बढ़्दछ। प्रह्लाद न त दलित हो न सवर्ण। यो कुनै स्त्रीलाई जलाउने उत्सव पनि होइन। नराम्रोलाई मासेर राम्रो परिवर्तन अर्थात् क्रान्ति ल्याउने पर्व हो।
पहाड़मा होली :
सातौँ शताब्दीको नेपालको लिच्छवि राजप्रासादमा श्रीहर्षको ‘रत्नावली’ प्रदर्शित भएपछि होली प्रासादीय पर्व भएको थियो। तर त्यो सीमित नेपाल थियो काठमाडौँ उपत्यका र वरिपरि। आधुनिक वृहत् नेपाल होइन। मल्लकालमा यो पर्व सीमित क्षेत्रमा मानियो, तर विक्रमी वर्ष २००७-को क्रान्ति (इ.१९५०)-पछि यादव, झा आदि मैथली भोजपुरी भाषीहरूले प्रचारमा ल्याए। कोच, मेच, धिमाल, थारू आदि मधेशीहरूले होली खेल जानेनन् र खेलेनन्।
पहिले वसन्तलाई अझ रङ्गीन बनाउनु होलीलाई प्रतीकको रूपमा स्विकारिएको थियो। भारतको मध्यकालीन समाजमा संकुचितता बढेपछि होलीलाई दलेरै खेल्ने बनाए। नर र नारी बेग्लै हुन्, एकार्कालाई छुनै हुँदैन, छोए पाप लाग्छ वा अशुद्ध हुन्छ भनेपछि मान्छेमा कौतुहल बढ्यो। नर-नारी एकार्कामा एक दिन छुन पाउने छुट होलीमा पाए। पाहाड़तिर यो समस्या भएन, त्यहाँ मुसलमान राज आएन, तराईको औले ज्वरोको डरले लुटेरे फर्किहाल्थे, सके जानै डराउँथे। पहाड़े समाजलाई संकुचित भइबस्ने आवश्यकता परेन अनि होलीकै दिन पर्खेर नर-नारी छुनपाउनु पर्ने पर्खाइ परेन। पहाडेले मेला-भेला, बिहा-बटुल, बाटा-पँधेरा जहाँ पनि सराबरा नरनारी सम्पर्क गर्न पाउँथे। तब किन होली चाहियो? जाड़ोमा चिसो पानी छेप्नु पाहाड़को भौगोलिक स्थितिले सम्भव पनि भएन, सामाजिक आवश्यकता पनि परेन।
मध्यकालीन मुसलमान शासनमा संस्कृतका शास्त्रीय नाटकहरूमा प्रतिबन्ध लागेपछि लोक नाटकहरू निस्के- रामलीला, तमासा, कुचिपुड़ी, लावनी, बालुन, मारुनी आदि। मध्यकालमा प्रचारमा आएका यस्ता लोकनाटकहरूमा नर नै नारी भई अभिनय (crossdressing) गर्न बाध्य रहे, नारीलाई नाटक खेल्ने छुट थिएन। मध्यदेश (मधेश)-मा भूगोल र समाजले दिनाले होलीबारे मिथकीय कथा लेखिनथाले।
अङ्ग्रेजको पालादेखि पाहाड़मा बिहारी बेपारी आउनथालेपछि अनि समाचारपत्र रेडियो आएपछि पाहाड़ेले समोसा, नमकिन, चाट, मङ्गलसूत्र, होली सिके; दहेजप्रथा देखे, जन्तीलाई बरात भन्ने पनि भए। आफ्नो चिनारी वा परिचय हराउँदैजाँदा पहिचान खोज्नेभए। पहाड़ेजस्ता अरू धेरै संस्कृति-अचेत जातिमा अरूका जे पनि राम्रो लाग्ने र आफ्ना परम्परा देखाउनु लाज लाग्ने प्रवृत्ति धेर हुन्छ पहाड़ेका संसारी पूजा, उँधौली-उँभौली, धान पर्व, साकेवा, इन्द्रजात्रा, तीज आदिलाई पनि होलीजस्तै प्रचार गरे हुने तर बिर्सनुमै गर्व गर्छन्। जाड़ोमा बलात् पानी हिलो छेपाछेप गर्छन्। पानी नष्ट हुने उस्तै। काठमाडौँमा त केटाहरूले विकृत मानसिकता लिएर छोरीचेलीलाई चिँड्याएको पनि देखिन्छ, आयातित पर्व मनाउने ढङ्ग पुग्दैन। नेपालले बहुसङ्ख्यकहरूका चाडपर्वलाई भन्दा अल्पसङ्ख्यक भोजपुरी मैथलीको होलीलाई धेर महत्त्व दिने हुँदा राजनीतिक समस्या पनि उब्जनथालेको देखिन्छ। सही पथनिर्देश दिइनु आवश्यक छ।
होली र गजल संकुचित समाजका उपज हुन्। एकार्कामा छुनको लागि होली अनि बुर्का-पर्दामा परेका केटीलाई कल्पनाले हेर्ने गजल। केटी वा केटा अर्काअर्कै ग्रहका प्राणी हुन् भन्ने वर्जित ‘ट्याबू’ सोच पाहाड़ेमा थिएन। सबै सराबरा थिए, हातेमालो गरी लोकगीत लोकनाच बेलाबखत वा सके दिनहुँ पाउँथे- होली र गजल पर्खिबस्नु पर्थेन। भारतीय उपमहाद्वीपमा कतै न कतै होली हर्ष वा पर्वको प्रतीक बनेकै छ। हाम्रै ठाउँमा पनि व्रतबन्ध गर्दा खस र नेवारहरूले अबिर दल्दछन्; बिहामा कति भोटेहरूले चाम्पाको होली खेलेको देखिन्छ; नवपिँढीले बर्थडेमा केकको होली खेल्नथालेका छन्; ठूल्ठूला पार्टीमा स्याम्पेनका होली खेल्दछन्। तान्त्रिकहरूले काशीको श्मशान घाटमा चिताका खरानीको होली खेल्दछन्। होस्टेलतिर विद्यार्थीहरूले दह बनाएर हिले होली खेलेका पनि देखिन्छ। वसन्त ऋतु होस् कि नहोस् भोट जित्नेहरूले रङ्गीन होली दलेकै हुन्छन्। होली मान्ने मधेशी मित्रहरूलाई हामीले उपेक्षा गर्नुहुँदैन। मूलत: हिन्दीभाषी क्षेत्रको लागि होली ठूलो पर्व हो। उनीहरूलाई उपेक्षा गर्नुहुँदैन। उनीहरूलाई सदिच्छा प्रकट गरौँ।*
▪️ अन्नलाई होला पनि भनिन्छ, अन्नदान पर्व होली भयो। होलिकाको कथा धेरैपछि जोड़िएको हो।
▪️ मोगलकालमा ईद-ए-गुलामी वा आब-ए-पाशी अर्थात् रङ्गका फोहरा नाम दिएर मुसलमानहरूले पनि होली खेल्थे।
▪️ भक्तपुरे नेवारहरूले होली पुन्हे भनेर भीमसेनको लिङ्ग पुज्दछन्। नेवारहरूको भीमसेन भनेको महाभारतका माइला पाण्डव (भीम) होइनन्।