(कथा) मैले के पाएँ

00-01

जिन्दगीको मुल्याङ्कन गर्न सजिलो हुँदैन। सारा जीवन केवल काम अनि काम गरेर अर्काको लागि कमम्र कसेर आज म अवश बनिसकेँ। रिसाइ पो हाल्छन् कि, दुख पो पाउँछ्न् कि भन्दै जति सक्यो सबैलाई खुशी पार्दापार्दै आज म किनारा नै आई पुगेँ। अब त शरीरले पनि सहन छोड्यो। कहिले त राम्रो होला……। सुख र शान्ति आउला भन्दाभन्दै आज म जीवनको अन्तिम क्षणको अपेक्षामा छु। 

साधारण कृषक बाबुका हामी चारजना सन्तान। म,भाइ दुईजना अनि बैनी। आमा सधैँकी बिरामी। जान्ने र बुझ्ने भएदेखि घरको ठूलो छोरा भएर बाबुलाई सघाउनु पर्थ्यो। घरको कामधन्दा, सौदापात पनि गर्नुपर्थ्यो। दस कक्षासम्म पढेपछि बाबुले भन्नुभयो, “छोरा तलाई  अब पढाउन सक्दिनँ। भाइबहिनीलाई पढाउनुपर्छ।” त्यस दिन म धेरै रोएँ। अनि बाबुमाथि बोल्न नसक्नाले गर्दा पढाइ तेतीमै समाप्त भयो। आमा पनि बिरामी। घरको अभावले गर्दा  दवाई पानी अनि पौष्टिक आहारको अभावले उमेरै नपुगी आमा पनि स्वर्गवास हुनुभयो। कहिल्यै निको नहुने खोकीको प्रभावले गर्दा बाबु पनि एकदिन बित्नु भयो। ममाथि दुःखको पहाड आइपुगो। भाइ-बहिनीको जिम्मेवारीले मलाई कठोर बनायो। दिनभरि खेतमा काम अनि बेलुका बारीका  साकपात बजारमा बेची घर चलाउने काम गर्ने थालेँ। भाई दुइटालाई पढाएर एउटालाई शिक्षक अनि अर्कोलाई वकील बनाएँ। बैनी पनि स्नातक भई। मनमा सारै हर्ष लाग्यो। जे नै होस, सबैलाई आफ्ना खुट्टामा उभिन सक्ने पारेँ। गाउँका छर-छिमेकी र आफन्तहरूले भन्थे, “अब तँ घर-संसार बसा, बुढेस कालमा सहारा चाहिन्छ।” म “हुन्छ नी” भन्थें । गाउँकै  बस्नेत दाजुकी चोरी बसन्तीलाई मन पर्थ्यो। सायद उसलाई पनि म मन पर्थेँ। तर मैले कहिल्यै पनि उसलाई मेरा मनका कुरा भन्न सकिनँ। आज भन्छु, भोलि भन्छु भन्दाभन्दै समय बिती रहन्थ्यो। बसन्ती पनि कहिलेकाहीँ छेडका हानेर उसका मनका कुरा सुनाउने प्रयास गर्थी।  एक दिन बसन्तीले रिसले मलाई के के हो सुनाई, “शहरबाट केटा आउने कुरा छन्। म बिहे भएर जान्छु अनि हेरी रहनु।”  मलाई हाँस पनि उठ्यो अनि दुख:  पनि लाग्यो। म  कसरी उसको हात माग्न जानू? ऊ त  मभन्दा पनि धैरे पढेकी छ। घरको अवस्था पनि राम्रो छ। ऊ आरामको जिन्दगी बिताएको घरकी एकलोटी छोरी हो। मेरो यो दुखको सागरमा उसको हात कसरी माग्नु? सकिनँ। मलाई साथदिने कोही पनि थिएनन्।  जिन्दगीको सफरमा लड्दा लड्दै एउटा यन्त्र जस्तोमान्छे बनी सकेको थिएँ। भाइ बैनीको दायित्वले पिसिएको एउठा दाजु जसको आफ्नो चाहना भन्ने केही पनि थिएन। कहिले त राम्रा दिन आउँछन् भन्ने आशा गर्ने म साधारण मानव थिएँ।    

दिन जाँदै गए। बासन्ती पनि मदेखि आशा गर्न छाडेकी थिई। एक दिन सुनेँ- शहरमा राम्रो जागीर गर्ने केटासँग उसको बिहे अरे। त्ससदिन म बेसस्सरी रोएँ। आफूको लागी गर्नसक्ने केही उपाय थिएन। मेरे भाग्यमा बसन्ती पनि रहिनछे। म कस्तो अभागी रहेछु! मलाई साथ दिने कोही पनि थिएनन्।  बिहेको दुईदिन अगाडि बासन्ती आएर धेरै घात गरी रोएर गई। मलाई सारै नराम्रो लाग्यो। तर उसको सुखको संसार होस् सोचेर मैले मेरा समस्त आशाहरूलाई कोपिलामै तोडी दिएँ। जिन्दगीको गोरेटो  सजिलो हुँदो रहेनछ। दिन बित्तै गए।बासन्तीलाई मैले भुल्न सकिनँ। दायित्व र कर्तव्य को लडाइँमा म  अघि बडिनै रहेँ। राम्रो सम्बन्ध एउठा बैनीका लागि आयो। बिहेको उपयुक्त समय भएकै थियो। कुटुम्ब पनि राम्रो रहेछ। बैनीको बिहे बारे सरसल्लाह गर्न शहरमा बस्ने  भाइहरूसँग सम्पर्क  गर्नको लागि एक दिन सहर गएँ। सोचेँ – बैनीको बिहे हो धूमधामले गर्छु। अहिले त दुइटा भाइ नै कमाउँछन्। कुराहरु सोच्तै मन हर्षित भयो। बसबाट ओर्लिएर पहिले ठुलो भाइको घरमा गएँ। भाइलाई सबै कुरा भनेँ। भाइले भन्यो -“दाजु, मसँग अहिले कहाँ पैसा छ र? अस्ति यी शहरमा जग्गा अलिकति पाएँ र किनेँ। मैले मेरो भविष्य बनाउनु पर्छ नि। तैँले के दिस् र? अनि मेरो बिहेको पनि कुरा छ। यहाँ सहरमै केटी एउटी पनि हेरेको छु। र म अहिले तँलाई केही पनि दिन सक्दिनँ। तैँले कमाएका पैसा के गरिस् र? त्यसैले नै बहिनीको बिहे गरी दे। तेरो त पाल्नलाई घरसंसार पनि छैन त, तँसँग त पैसा हुनु पर्ने।” म छक्क परेँ! यस्तो के सुन्नु पर्‍यो मैले? भाइले खान दिएको चिया र बिस्कुट नखाई, केही नबोली त्यहाँबाट निस्किएँ। जाँदाजाँदै सोचेँ के पाए मैले? मेरो सारा जिन्दगीको कमाई त मेरो भाइहरू र बहिनी एउटी हुन्। यो कस्तो बिडम्बना।ल! मलाई आफूमाथि नै हाँस उठ्यो। हुन्छ उसको सहरमा जग्गा होस्, घरसंसार होस्, उसले खुसीको जिन्दगी बिताओस्। तर सानो भाइ भाष्कर त त्यस्तो होइन, उसले मलाई सहाय गर्छ। ऊ त वकिल हो, उसको कमाई पनि धेरै छ। उसले त सहरमा फ्ल्याट पनि ली सक्यो। मेरो मनमा खुसीको लहर फेरी आयो। म छिटोछिटो भाष्करका घरतिर लागेँ। वहाँ पुगेर  कलिङ बेल बजाउँदा एउटी राम्री बुहारी मान्छेले दैलो खोल्दा म झसङ्ग भएँ। “ला …. कहाँ पो आएछु”, भनेर सोच्न थाल्दा ती बुहारीले सोधिन्, “कसलाई खोज्नुभएको हजुर?” मैले भने, “होइन हजुर मेरो भुल भयो होला म त  वकिल भाष्कर क्षेत्रीको घर आएको। नरिसाउनु होस् ल मेरो भुल भएछ” भनी फर्किन लाग्दा उहाँले भन्नुभयो, “हजुर, तपाईँको केही भुल भएको छैन। यो वकिल भाष्कर क्षेत्रीकै घर हो। म उनकी धर्मपत्नी हुँ। हजुर ,भन्नुहोस् के कामले आउनुभएको?” म त आकाशबाट खसेजस्तै भएँ। उसले बिहे पनि गरेछ????? अचम्म मलाई खबर पनि दिएन त! बुहारीले हजुर भित्र आउँनुहोस् भन्दा म वास्तविक जगतमा आएँ। नाई, हुन्छ म जान्छु, मेरो बाटो भुल भएछ भनेर म आफ्नो बाटो लागेँ। बल्ल, वास्तविक जीवनमा आइपुगे जस्तो लाग्यो र लामो सास फेरेँ। हे भगवान! यो के देख्नुपरेको? जसको लागि सारा जिन्दगी कष्ट गरेँ आज मेरो त्यागको मूल्य कस्तो भेटेँ? ठिक छ अब के गर्नु? दायित्य पुर्न गर्नमै म सधैँ व्यस्त थिएँ जब  अब अन्तिम दायित्व पनि पूर्ण गर्छु। त्यो पुरा गरेपछि म मुक्त हुन्छु आफ्नो दायित्वबाट। दिनभरि भोकै तिर्खै, मनलाई दुखाउँदै म घर आउने बसमा चढेँ। बिहान घर आइपुगेँ। सिधै आएर  बैनीले चिसो पानी एक ग्लास दिएर भनी, “दाई, तलाई भोक लाग्यो होला। लु, अब छिटो छिटो हात मुख धोएर विश्राम गर। म नास्ता लगाउँछु।” त्यो बैनीको धेरै माया लाग्छ मलाई। जे नै नहोस्, बैनीको बिहे धुमधामले गर्छु म भनेर ठानेँ। नास्ता गरेर सुब्बा महाजनको घर गएँ। उहाँसँग वार्तालाप गरी घरका सबै कागजात जिम्मा लगाएँ। समयमा बैनीको बिहे पनि भयो। व्यस्त भाइ दुईजना बैनीलाई आशीर्वाद दिन पनि आउन भ्यानन्। घरबारी महाजनलाई जिम्मा दिएर म मुक्त मन एउटा लिएर लक्ष्यहीन यात्रा आरम्भ गरे। बाबुले दिएको दायित्व र बिमारी आमाका आँखाले खोजेका आशाहरूलाई साकार पारी आज म मुक्त मन लिएर हिँडे। संसार र समाजको नियम, घरप्रतिको दायित्वबाट मैले कहिल्यै पनि मुख फेरिन। जति सकेँ निस्वार्थी भएर आफ्नो कर्तव्य पालन गरेँ। आज यो धर्मशाला मेरो नया ठेगाना हो। शरीर पनि मानसिक पीडाले गर्दा दुर्वल हुन थाल्यो। अब त एउटै आशा छ, भगवानको प्यारो कहिल्यै हुन पाउँ।  अर्को कुरा एउटा मैले केही राम्रो गरेको रछु भने अर्को जन्ममा म वासन्तीलाई आफ्नो पार्न पाउँ, किनकि उसको सारै याद आउँछ…। के गर्दैछे होला अहिले?     

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *