सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को तत्त्वावधानमा आयोजित सिलगढ़ी प्रीमियर लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा देशबन्धु स्पोर्टिंग युनियन (डीएसयू)-ले जीतको क्रम जारी राख्दै फाइनलमा स्थान बनायो। कञ्चनजंघा स्टेडियममा बिहीवार भएको पहिलो सेमिफाइनल म्याचमा डीएसयू-ले महानन्दा स्पोर्टिंग क्लबलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट विंगर सनातन कर्मकारले चौथो अनि डिफेण्डर शुभम सूत्रधर (इला)-ले ३७औं मिनटमा गोल गरे। विजेता टीमका सनातन कर्मकारलाई प्लेयर अव् द म्याच चयन गरियो। अब शुक्रवार खेलिने दोस्रो सेमिफाइनलमा आठेरोखाई सरोजनी संघले गत सीजनको च्याम्पियन यंग मेन्स एसोसिएशनको चुनौती स्वीकार्नेछ। रेलिगेशन म्याच १० दिसम्बरमा खेलिनेछ।

यसरी नै फाइनल ११ दिसम्बरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई पीसी मित्तल मेमोरियल च्याम्पियन ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई सुलोचना देवी अग्रवाल मेमोरियल रनर अप् ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।