“झिरिमिटिका समिधाहरू” : एक सूक्ष्म अवलोकन

0-0-900911

प्रस्तावना :

    हिउँको धुसा ओढेर आफ्नै धुनमा गुटुमुटु भई न्यानो अनुभूतिमा रमाउन खोज्ने, बाहिरको दुनियाँदेखि बेखबर समाजलाई घचघचाउँदै सुख-शान्ति, विद्रोह-हुङ्कार, न्याय-अन्यायको यज्ञकुण्डमा होम्याउन खोज्ने कवयित्री हुन् लखिमपुर दङ्गिबिलकी शिक्षयित्री पद्मा देवी। सामाजिक सञ्जालमा मनग्गे समीक्षात्मक लेख लेखेर समीक्षाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी समीक्षक पद्मा यतिबेला आफ्नो पहिलो काव्य कृति लिएर कविको रूपमा नेपाली साहित्यको क्षेत्रमा उदाएकी छन्। मिथकीय प्रयोगको पोको बोकेर झुल्केको तथा लरिएलि लखिमपुर प्रकाशद्वारा प्रकाशित कवि पद्मा देवीको काव्य कृतिको नाउँ हो “झिरिमिटीका समिधाहरू”।  कृतिको नाउँबाटै यज्ञकुण्ड,पुराण, वेद आदि पौराणिक एवं ऐतिहासिक कुराहरूको भान हुने कवि पद्माको काव्य कृतिमा पनि प्रशस्तै मिथकको प्रयोग भएको पाइन्छ। मिथक भन्दा कुनै ऐतिहासिक पात्र अभवा धर्मग्रन्थमा वर्णित कुनै चरित्रलाई बुझिन्छ। यसबाहेक उनका कवितामा जीवन जगतका विभिद पक्षहरू जस्तै : समाजमा व्याप्त समानता-असमानता, नारी शोषण, धर्म -अधर्म, न्याय-अन्याय, पर्यावरण, गाउँको परिवेश आदि पाइन्छन्। कुनै कविता सपाट वर्णन भएका छन् भने कुनैमा बिम्बको प्रयोक भएको पाइन्छ। कविताहरूले सन्देश बोकेका छन्, सुधारको बाटो खोजेका छन्।

सन् २०२२ मा प्रकाशित “झिरिमिटिका समिधाहरू” लाई असममकी अग्र पङ्त्तिमा गनिने कवि, उपन्यासकार, कथाकार डा.इन्दु प्रभा देवीले आफ्नो शसक्त भूमिकाले सुनमा सुगन्ध थपेकी छन् भने कवि कथाकार, नाट्यकार धर्मेन्द्र उपाध्याय, विनोद खनाल र सञ्जीव उपाध्यायका शुभेच्छाका हरफहरूले कृतिमाथि पुष्प बर्साएका छन्। झिरिमिटि भनेको साना, मासिना र समिधाहरू भनेका यज्ञकुण्डमा बालिने पवित्र रुखका ससाना दाउरा हुन्। यी समिधाहरूले नै यज्ञमा होमादी गरिन्छ र यज्ञ सफल हुन्छ। तर कार्य सफल भएपछि यी समिधाहरूको कहिँ कतै उल्लेख हुँदैन। उनीहरूको अवदानको मूल्य कसैले बुझ्दैन। अरूको कार्य सिद्ध गर्न समिधारूले आफ्नो बलिदान दिन्छन्। तर त्यो महान दान न समाजले देख्छ न समिधाहरूले कहिँ  कतै मानै पाउछन्। आदिकालदेखि नै यसरी नै होमिँदै आएका छन् कैयौं नारी समिधाको रूपमा, आफ्नो सर्वस्व त्याग गर्दै आएका छन्। सती, द्रौपदी, सीता हुँदै अहिलेको समयमा पनि आफ्नो सर्वस्व त्याग गरेर अरूको निम्ति जीवन जिउने गर्छन् समाजबाट उपेक्षित नारी। यिनै कुराहरूको तर्क राख्दै आएका छन् कवि पद्माका कविताहरू। विज्ञानकी शिक्षिका कवि पद्मा यसरी बोलेकी छन् आफ्ना कविताहरूमा –

‘‘अनि फेरि पुतली समाउने

कोपिलालालाई निमोठिदिन्छ एउटा राक्षसले

स्तन भनेर टोकिदिन्छ एउटा रित्तो छाती

आज तपाईंको शहरमा

भोलि मेरो गाउँमा’’(अस्मिता लुट्न पल्किएको शहर, रुद्र बराल)

नारीहरूको अस्मिता लुटिएको देखेर कवि बराल आफ्नो कवितामा जसरी चिन्तित देखिन्छन्।  जसरी उनी छट्पएका छन् , भक्कानिएका छन् अनि घाइते अभिभावकझैँ आफ्नो क्रन्दन यसरी कविता मार्फ पोखेका छन्  कवि पद्मा पनि ठिक त्यसैगरी बरालको अनुरूप देखिन्छिन्  हाम्रो देशमा नारी अस्मिता लुटिएको देखेर उनी रोएकी छन् , छाटपटाएकी छन् अनि अफ्नो हुङ्कार कवितामार्फत् यसरी पोखेकी छन् –

‘‘देवीको कुहिएको अङ्ग पूजिने देशमा

 दिनहुँ चोरिँदैछन् देवी शिशु

 कुन यज्ञमा होमिँदैछन्

 अत्तोपत्तो छैन’’

झिरिमिटिका समीधाहरूमा कवि पद्मा शिशु अपहरणको बढ्दो समस्याप्रति चिन्तित र सजग छन्। हाम्रो देशमा शिशु अपहरणकारीको सङ्ख्या दिनदिनै बढीरहेको छ। सधैँ कुनै न कुनै शिशु हराएको खबर हामीले समाचारमा सुन्न पाएकै छौँ। न त समाजले, न सरकारले, न कुनै सङ्गठनले यसमा रोक लगाउन सकेको छ। अपराध भने बढेकोबढै छ। यही देखेर कवि पद्माको मन भतभती पोलेको छ।”पितृ देवो भव” भन्ने हाम्रो मान्यता छ। पिताको आसन भगवान जत्तिकै छ। पिताको अवदान गनेर गन्न सकिँदैन। हामी पितालाई पूजद्छौँ। हाम्रो जीवनमा पिताको महत्वबारे उनी यसरी भन्छिन्—

“सन्तानलाई सुखी देख्ने आशामा

भोक पचाएर

शोक लुकाएर

खुशी हुँदै आएका

पितारूपी भगवान हुन् उनी”। (पिता)

हो! पिता भगवान हुन् त्यसैले त हाम्रो शस्त्रले भनेको छ –

“पिता धर्म: पिता स्वर्ग: पिता हि परमं तप:

पितरि प्रीतिमापन्ने पीयन्ते स्वर्व देवता।”

यो सन्सार बाठाको मात्रै हो। यहाँ सोझा निमुखाहरूको केही मोल छैन। उनीहरूलाई बाठाहरूले  छलेका छन्। उनीहरूकै काँधमा बन्दुक राखेर पड्काउने गर्छन् बुद्धि भएकाहरू। त्यसैले सबै सुबिधाबाट वञ्चित  हुन्छन्  सोझा निमुखा रिट्ठेहरू सधैँ।

“अर्काकै लागि बाँचिरहेका हुन्छन्

करोडौँ रिट्ठेहरू

देख्दा सामान्य देखिने

उनीहरूका एकएक कर्म

सृष्टिका उत्स हुन्छन् अरूका लागि” (रिट्ठेको मर्म कथा)

Don’t laugh at loud

because you are a girl..

keep calm and cool,

don’t sought,

Why ?

Beause you are a gir….”

पद्माका कतिपय कविता नारी चेतनाले भिजेका छन्। हाम्रो सामजमा छोरीलाई आदर्श, अनुशासन, संस्कार आदि अनेकौँ सामाजिक नीतिनिमयले पाइलैपाइलामा लहरारे बेरेझैँ बेरिन्छ। स्वाधीन छन् उनीहरू तर त्यो स्वाधीनताको चारासीमामा ठुलो पर्खाल छ परसम्म। समाजमा नारीको स्थान र अस्तित्व देखेर उनको मन यसरी रोएको छ-

“सम्झिन्छिन् आज पनि उनी

लाञ्छित भएर बिताएका प्रत्येक औँसेली रात

न्यायको आशामा बितेका

भोका तिर्खा दिनहरू।”(अस्तित्वको लडाइँमा द्रौपदी)

पद्माका कवितामा विषयगत विविधता छ। देखेका, भोगेका सामाजका विभिन्न पाटालाई उनले कवितामा उतारेकी छन्। विविधता भए तापनि कविताको लक्ष्य एउटै छ, उद्देश्य एउटै छ।  उनले समानताको कामना गरेकी छन्। जातिको अस्मिता सङ्कटमा परेको देखेर उनी यसरी भुतभुताएकी छन्-

“छाती च्यातेर देखाउन देशभक्ति

 हनुमान होइनौ तिमी

कगजमा उतार्नु पर्दछ

तिम्रा पू्र्खाहरूको मुटु कलेजो” (म जन्मिएको माटो)

पद्माका कवितामा गाउँ झल्केको छ, खेतीबाली हाँसेको छ, रुख-पात-बिरुवा रमाएका छन्। जलवायु, ऋतु आदिले आफ्नो रङ देखाएका छन्। शहरको रमझमबाट निकै टाढा छन् उनका कविता। प्रकृति प्रेममा ओतप्रोत भई उनी यसरी रमाएकी छन्-

“गर्भवती खेत 

आँखाले भ्याउनेसम्म हरियो

आशाको दीप कृषको मनमा

गाइवस्तुको प्राण।” (बर्खा)

कविताहरूको संरचना पक्ष:

संवेदनशील कवि पद्माले समाजलाई सूक्ष्म अध्ययन गरेकी छन्, धेरै नजिकबाट हेरेकी छन् समाजका गतिविधिलाई। उनले काविताको मार्फत समाजलाई सन्देश दिएकी छन्। उनका कविताहरूको भाव उच्च छ, विषय पनि राम्रो छ, तर लामालामा वाक्य र उखानको प्रयोगले काव्यिकतालाई थिचेको छ। कविताहरू बिम्ब, प्रतीक र मिथकले सजाए पनि ज्यादै मिथकीय प्रयोग भएकाले कविताहरू आध्यात्मिक दिशातर्फ ढल्केका छन् जस्तो लाग्छ। तत्सम शब्दको पनि भरमार छ। कुनै कुनै कविताको शीर्षक नै संस्कृत वाक्यबाट भएको छ। जस्तै- अतिथि देवो भव:। तर तत्सम शब्द र वाक्यको प्रयोगले कविता दुरूह एवं क्लिष्ट एकदमै भएका छैनन्। कविताको शैलीमा खासै नयाँ प्रयोग भने छैन। यति हुँदाहुँदै कविताहरू पठनीय भने अवश्री छन्।

उपसंहार :

सामाजिक सचेत कवि-समीक्षक पद्मा देवीको यो पहिलो प्रयास हो। परिवर्तनको चाहना राख्ने कवि पद्माले आफ्नो पहिलो प्रयासमा समाजलाई धेरै थोक दिन चाहेकी छन्। अत: उनको यो पहिलो प्रयासलाई पाठकवर्गले निश्चय अपनाउनेछन्।

_____©____________

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *