नेपाली सङ्गीत संसारका मणि… मणिकमल छेत्री

00-Manikamal-Chettri-1

कालूसिंह रनपहेंली, मो. ९४३४४१०६४६

हाँगा हाँगा वनभरि चैत फुलेछ

थाहा नपाई मनभित्र बैंस फुलेछ….

(स्वर: अरूणा लामा, शब्द: हरिभक्त कटुवाल, सङ्गीतः मणिकमल छेत्री)

पारिपट्टि सहनाई बज्छ वारिपट्टि शङ्ख बज्छ

प्रियतमको लाश लाँदा प्रेमिकाचाहिँ डोली चढ्छ 

(स्वर-सङ्गीत: मणिकमल छेत्री, शब्द: मनबहादुर मुखिया)

नेपाली सङ्गीत संसारमा मणिकमल छेत्री एक मणिसरह छन्। उनको योगदान, समर्पण र लगनले नेपाली सङ्गीतको फाँट अझै विस्तृत बनेर गएको कुरो ध्रुवताराजस्तै चहकिलो छ। आफूबारे बताउनुहुन्छ मणिकमल छेत्रीज्यू,‘मेरो जन्म माता रत्नमाया छेत्री अनि पिता नरसिंह छेत्रीको कोखबाट ७ मार्च १९४९-को दिन दार्जीलिङको राजबाड़ीमा भएको हो। मैले प्राथमिक शिक्षा गाउँकै अमर पाठशालाबाट प्राप्त गरेको हुँ त्यसपछि सरकारी उच्च विद्यालयमा पढ़ेर उच्चत्तर माध्यमिक गरें, त्यसपछि दार्जीलिङ सरकारी महाविद्यालयबाट स्नातक गरेको हुँ। सङ्गीतको क्षेत्रमा भने प्रयागबाट सङ्गीत विशारद गरेको हुँ। पढ़िसकेपछि नोकरीको सिलसिलामा सन् १९७० देखि १९७८ सम्म साम्ची भूटानमा सङ्गीत साथै विषयका शिक्षकको रूपमा बसें। त्यहाँबाट फर्केर आएपछि सन् १९८० मा सङ्ग एण्ड ड्रामा युनिट दार्जीलिङ, पश्‍चिम बङ्गाल सरकारमा सङ्गीतकारको रूपमा काम पाएर गरें अनि अन्तिम छ:-सात वर्ष विभागको निर्देशकको पदभार सम्हालेर सन् २००९ मा अवकाश ग्रहण गरेको हुँ।’

‘तपाईंले कसरी आफ्नो साङ्गीतिक जीवनको रेल सङ्गीतको लिखमा कुदाउन शुरु गर्नुभयो? केही स्मरणीय कुराहरू छन् कि उस बेलाका?’ रमाइलो सम्झनाका मणिहरू उन्छन् बातको मालामा मणिकमलज्यू ‘मेरो सङ्गीतप्रति रूचि सानैदेखिको हो। दश-एघाह्र वर्षदेखिनै सङ्गीतप्रति मेरो रुचि थियो। सानोमा हाम्रो घरदेखि अलिकति उता एउटा बार थियो, बारको पल्लोपट्टि मेरो साथीको घर थियो र त्यो बारमा उभिएर म साथीको घरमा बजेको रेडियो सुन्नु त्यहाँ जान्थें रे भनेर मेरा बाबा आमाले भन्नुहुन्थ्यो। सधैं अर्काको घरमा बजेको रेडियो सुन्नु जाँदा मेरा बाबाले मलाई एउटा रेडियो ल्याइदिनुभएको थियो। तर त्यतिबेलाको रेडियो एरियलवाला ठूलो भाल्बवाला थियो। त्यो रेडियोमा आएका गीतहरू म सुन्थें र मलाई मन परेका गीतहरू त्यतिनै बेला कपी गरिहाल्थें। हारमोनियम पनि ल्याइदिनुभएको थियो बाबाले, पछि ग्रामोफोन पनि ल्याइदिनुभयो चाबीवाला। हारमोनियममा ती गीतहरू सिकेर त्यतिनै बेला म सिक्थें, बजाउँथें, गाउँथें। सङ्गीततर्फ मलाई धेरै प्रभाव पारेकोचाहिँ त्यतिबेलादेखि हो जतिबेला दिल्ली रेडियो स्टेशनबाट गोर्खामा समाचार भनेर आउँथ्यो। समाचारपछिचाहिँ गीत बज्थ्यो। उसबेला खालि मित्रसेन थापाका गीतहरू बज्थे। म ती गीतहरू सुन्थें। ती गीतहरूले मलाई खूब प्रभाव पार्थ्यो। पछि फेरि रेडियो नेपालका गीतहरूले पनि अझै बेसी प्रभाव पार्‍यो। त्यहाँ प्रेमध्वज, नारायण गोपाल, बच्चु कैलाशहरूका गीतहरू सुन्ने अवसर पाइयो र त्यसैले धेरै प्रभावित भएर सङ्गीतप्रति आफू पनि पाइला चाल्न प्रेरणा बटुलें।  मेरो सङ्गीतिक जीवनको शुरुआत विद्यार्थी जीवनबाटै भएको हो। मैले सातौं श्रेणीको विद्यार्थी हुँदादेखिनै यो क्षेत्रमा हात हालेको हुँ। त्यतिबेलाचाहिँ म भर्खर सिक्दै गरेको अवस्थामा थिएँ। नवौं श्रेणी पुगेपछि मैले दिदी अरूणा लामासँग कलकत्ताको हिन्दुस्तान रेकर्डिङ कम्पनीमा सर्वप्रथम गएर रेकर्ड गरेको थिएँ।’

‘प्रख्यात गायिका अरूणा लामासित यसरी गीत रेकर्ड गर्ने सुयोग यहाँलाई कसरी मिल्नगयो हामी पनि जानौं न!’ अब हिँड़न थाल्छन् उनी उत्तरको बाटो सम्झनाका गल्लीहरू हुँदै,‘ यो म पन्द्रह वर्षको उमेर हुँदाको कुरा हो। सन् १९६४-६५ को कुरा हुनुपर्छ, म रेलवे स्टेशनको बाटोभएर जाँदै गर्दा शरण प्रधान दाज्यूले भेट्नुभयो। उहाँ त्यतिबेला सन्त रोवर्टस् पाठशालामा शिक्षक काम गर्नुहुन्थ्यो। उहाँले मलाई भन्नुभयो, ‘भाइ घरमा आउनुपर्छ है! तपाईं यसपालि रेकर्डिङमा जानुपर्छ।’ मलाई रेकर्डिङको केही ज्ञान थिएन तरै पनि मैले ‘हुन्छ!’ भनें अनि उहाँहरूको घरमा पुगें। दाज्यूले मलाई गीतहरू सिकाउन थाल्नुभयो। हामी रेकर्डिङको लागि कलकत्ता हिँड्यौं। म युवा त्यतिबेलाको नवौं श्रेणी पढ्ने केटो स्टुडेन्ट कन्सेसनमा रेलमा टिकट काटेर गएको थिएँ अनि रेकर्ड भयो मेरो जीवनको पहिलो गीत,‘यो जोवनलाई घरको माया छ कि छैन जस्तो लाग्छ मायालूलाई सम्झेर…’  अर्को रेकर्ड गर्‍यौं,‘आँखाहरूले कसलाई कसलाई खोजेझैं लाग्छ मलाई मायालू भनेर…’  यो गीत म र अरूणा लामा दिदीले गाएका हौं। यी दुवै गीतका शब्दकार र सङ्गीतकार हुन् शरण प्रधान। मेरो एउटा एकल गीत पनि रेकर्ड गर्ने मौका दिनुभयो, ‘गुणको नाममा केही रहेन अवगुणैले दियो साथ, मलाई साथी सम्झिनेलाई मेरो धेरै धन्यवाद….।’ पछिल्लोपल्टचाहिँ ‘जोवनमा जोगिएर बस है छोरी बिग्रे माइतीको नाक जाला…’ यो पनि गरें। त्यतिबेला हिन्दुस्तान रेकर्डिङ कम्पनीले अरूणा दिदीलाई प्रत्येक वर्ष रेकर्डिङ गर्ने कोटा दिन्थ्यो। त्यही कोटामा दिदीसित गाउन म कलकत्ता पुग्न सकेको थिएँ। मलाई उनीहरूले दुइतीनपल्ट यसरी लगेका थिए।’

‘अहिलेसम्म यहाँले कतिवटा गीतमा सङ्गीत भरिसक्नुभयो, कति गाइसक्नुभयो? कति रेकर्ड गरिसकिए?’ उनी बताउन लाग्छन् आफूले जीवनमा कमाएका असल सम्पतिहरूको हिसाब,‘सबै विधाका गीतहरू छन् मसित, भजनदेखिदेशभक्ति, जातीय गौरवका गीतहरू, आधुनिक, लोक, लोकधुनमा आधारित, शास्त्रीय धुनमा आधारित आदि गरेर पन्द्रह-सोह्र सय गीतहरू भए होलान् मेरो हिसाबले। त्यसमा रेकर्ड भएकाचाहिँ मलाई लाग्छ तीन-चार सयजति गीतहरू छन्।’ प्रसिद्धिका गायक/सङ्गीतकार मणिकमल छेत्रीको साँचो परिचय भनेको उनका गीतहरू नै हुन्। केही लोकप्रिय गीतहरूबारे बताउनुहुँदै मणिकमलज्यू, ‘श्रोताले मन पराएका मेरा केही गीहरूबारे बताउनुपर्दा नाटककार पी. अर्जुनले लखेका ‘बाँच्न जानिनँ कि बचाउँन जानिनँ…’ यो गीतको नाम लिन चाहन्छु, जुन एकदमै प्रसिद्ध भएको हो। यो गीत गायक पेमा लामाले गाएका छन्। दुइपल्ट रेकर्डिङ भयो यो गीत। त्यसपछि अरूणा लामा दिदीले मेरा धेरै गीतहरू गाउनुभयो जसमा ‘हाँगा हाँगा वनभरि चैत फुलेछ….’ हरिभक्त कटुवालका शब्दमा यो गीत अहिले पनि एकदमै लोकप्रिय छ। नेपालका जगदीश समाल भाइले गाएका गीतहरू पनि धेरै लोकप्रिय भएका छन् जस्तै- ‘तिमीले दिएको प्रेमको गलफन जुनिभर बाँध्नेछु…’ आदि। सुप्रसिद्ध गायक नारायण गोपालले छानेर मेरा पाँचवटा गीतहरू राखेका थिए। ती गीतहरूमा थिए- नरदेन रूम्बाका शब्दहरूमा ‘अचानक पराय भयौ तिमी…’,  ‘तिम्रो बोली मेरो बोली…’ आदि। तर उनले यी गीतहरू रेकर्ड गर्न पाएनन्। ती गीतहरू धेरैले मन पराएका गीतहरू हुन्।’ 

प्रसङ्गमा आउँछ साठीको दशक, नेपाली सङ्गीत र दार्जीलिङको कुरा। प्रसङ्गको बोटमा उनी फुल्छन् सम्झनाको फूल,‘यस्तो भनिन्छ हामीचाहिँ साठीको दशकको जमानाले भेटेकाहरू हौं। साठीको दशकलाई ‘गोल्डन एज अफ नेपाली म्युजिक’ अर्थात् नेपाली सङ्गीतको स्वर्णिम युग भनिन्छ। त्यस समय जति गीतहरू बनिए त्यति अहिलेसम्म कुनै दशकमा बनिन सकेका छैनन्। प्रकाश सांयमीले पनि ‘त्यो काललाई स्वर्णिम युग’ भनेर त्यसै भनेका होइनन्, अरू पनि धेरैले भन्छन्। त्यो स्वर्णिम युग दार्जीलिङदेखि शुरु भयो भनेर भनिएको छ। हामीले त्यो युग भेटेर आएका हौं! त्यतिखेर शब्द, सङ्गीत अनि गायन सबै कुराको तालमेल मिलेको थियो। यति हो तक्निकीचाहिँ विकाश भएको थिएन। अल इण्डियो रेडियोमा पनि विकाश भएको थिएन, बाहिर पनि टेक्नोलजी त्यस्तो विकाश भएको थिएन। कम्पोजिसन, शब्दरचना, गायन, वाद्यवादन सबै एकदमै उत्कृष्ट थिए त्यो समयमा। त्यसैले गर्दा त्यसलाई स्वर्णिम युग भनिएको हो। त्यति बेलाका शब्दकारहरूमा गोपाल योञ्जन, अम्बर गुरूङ, अगमसिंह गिरी,  शरण प्रधानहरू त छँदै थिए हाम्रा नरदेन रूम्बा, जस योञ्जनहरू आउँछन् राम्रा शब्दकारहरूमा! पुरण गिरी पनि अलिकति पछिका हुन् तर हुन् राम्रा गीतकार। उसबेलाका सङ्गीतकारहरूमा अम्बर गुरूङ, गोपाल योञ्जन, कर्म योञ्जन, शरण प्रधान, कपिलराज सुब्बा, गगन गुरूङ, मनबहादुर गुरूङ, धनञ्जय थापा, मानवीर सिंह, वसन्त छेत्री, दिव्य खालिङहरू थिए। उनीहरूको समय थियोे नि त त्यो! गायनमा पनि अम्बर गुरूङ, अरूणा लामा, दिलमाया खाती, गोपाल योञ्जन, जितेन्द्र बरदेवा, शान्ति ठटाल, रहरकुमारी आदि थिए।’ यो पङ्क्तिकार जोड्छ, ‘मणिकमल छेत्री पनि त थिए!’ हाँस्दै भन्छन् उनी, ‘अँ म पनि गाउँथें उसबेलादेखिनै!’ भन्दै जान्छन् उनी,‘दावा ग्याल्मोचाहिँ हामीभन्दा केही पछिका तर दावा ग्याल्मोले पनि गरेकै हुन् त्यतिबेला पनि। सानैदेखि उनको पनि एकदमै राम्रो स्वर। उनलाई जितेन्द्र बरदेवाले ‘अहिले त मेरो जोबन, सानो छ सानै कोपिला…’ भन्ने गीतमा पहिले मञ्चमा निकालेका हुन्। त्यो गीतको ट्यूनचाहिँ पछि ‘सगिना महतो’-हिन्दी फिल्ममा हालिएको थियो। त्यस समयमा मन परेका गीतहरू बताउनु हुँदै मणिकमलज्यू, ‘गोपाल योञ्जन दाइका गीतहरू धेरै मन पर्ने। कर्म योञ्जन दाइका गीतहरू पनि मैले गाएँ। उहाँ पनि उत्कृष्ट सङ्गीतकार। अगमसिंह गिरीका शब्द र कर्म योञ्जन दाइको सङ्गीतमा प्रसिद्ध गीत ‘माटोको माया बिर्सेर यहाँ बाँचेर केको सार पहाड़की रानी दार्जीलिङलाई माया छ बारम्बार…।’ यो गीत पहिले त मैले स्टेज गरेको। कर्म योञ्जन दाइको सङ्गीतमा मैले धेरै गीतहरू गाएँ। गाइएका गीतहरूमा- ‘कसैलाई सम्झिदिन्छु फूलदेखि वनभरि …’, ‘मदिराले होइन मत बैंशले मातिएँ…’ आदि हुन्। ‘मदिराले होइन मत….’ भन्ने गीत गोपाल योञ्जन दाइको बिहेमा गाउँदा प्रसिद्ध गायक नारायण गोपालज्यूले मलाई तीनपल्ट गाउन लगाउनुभयो। त्यो मेरो जीवनको स्मरणीय एउटा घटना हो।’ हामीले सिक्किमका गीतकार सानु लामाज्यूको ‘जहाँ बग्छ टिस्टा रङ्गीत…’ यो गीत पनि रेकर्डिङ गरेका थियौं।’

‘सङ्गीतलाई आआफ्नै शब्दमा उनेर परिभाषा दिएका छन् धेरैले, यहाँचाहिँ सङ्गीतलाई बताउन के कस्ता शब्दहरू टिप्नुहुन्छ?’ सोधनीलाई मणिकमलज्यूको प्रत्युत्तर,‘वास्तवमा भन्नु हो भने मान्छेको जीवन नै सङ्गीत हो। यसका दुईवटा पक्ष छन्, एउटाचाहिँ हामी हेर्छौं कला अर्थात् साङ्गीतिक पक्षले अनि अर्को वैज्ञानिक दृष्टिकोणले पनि। कलाको पक्षले हेर्नु हो भने, यो गाउनु बजाउनु गर्दा जुन परिवेश सृजना हुन्छ त्यसले मानिसको पचास प्रतिसत रोग भाइब्रेसनले नै लैजान्छ। अहिले त रोग निको पार्न पनि म्युजिक थेरापीहरू शुरु भइसके! सङ्गीतले पौधाहरू बढ़नु, फलफूल फलाउनु इत्यादिमा पनि धेरै ठूलो असर गर्छ। सङ्गीतको भाइब्रेसन एकदमै महत्त्वपूर्ण कुरो हो। मैले कहीँ पढ़ेको छु सङ्गीत सुनिरहने गाईले धेरै दूध दिएका कुरो पनि। यसकारण सङ्गीत मामूली कुरो होइन। सङ्गीतलाई हामी धेरैवटा दृष्टिकोणले हेर्न सक्छौं।’

सङ्गीतको उत्पतिबारे आफ्नो अध्ययनका पृष्ठहरू पल्टाउँदै गायक सङ्गीतकार मणिकमल छेत्रीज्यू,‘उहिल्यै जङ्गलमा जब मानिसहरूको भाषा नै थिएन त्यस त्यतिबेला ओढ़रहरूतिर चित्रहरू कोरेर मनको भाव प्रकाश गर्थे भन्ने प्रमाणहरू छन्। पछि भाषा बनियो। भाषा नहुँदा पनि मानिसहरू हाहू हूहू गर्ने गर्थे। त्यो आवाजैमात्र पनि सङ्गीतकै प्रतीक हो। ध्वनि भन्नेबित्तिकै सङ्गीतमा आइहाल्छ। तर पछि आएर कुन ध्वनि सङ्गीतमा प्रयुक्त हुनसक्छ भन्ने छुट्याइयो। सबै ध्वनि सङ्गीतमा प्रयोग हुँदैनन्। त्यस्तो प्रकारले बाइसवटा श्रुतिमा ध्वनिलाई छुट्याइएका छन्। त्यसले गर्दा सङ्गीतको आफ्नै विशेषता छ। भाषाको बीज रोप्नेचाहिँ आवाज नै हो। पछिपछि जब भाषा बनियो, भाषा बोल्दाखेरि सङ्गीतका सुरहरूको उतार चढ़ाउहरू छैनन् भने त्यो भाषा मीठो हुँदैन। भाषामा मिठास दिने सङ्गीतका सुरहरू नै हुन्।’

प्रविधिहरूको कुरा चलेपछि आफूले भोगेका र आत्मसात गर्दै आएका अनुभूतिहरूलाई पगालेर शब्दहरूमा देखाउँछन् मणिकमलज्यू,‘हाम्रो समयमा त त्यति राम्रो प्राविधिक सुविधाहरू थिएनन्। तर यी सुविधाहरू आएर पनि एउटा खोटचाहिँ छ, त्यो के हो भने, पहिलाको प्रविधिमा हामी आफैं पूर्णत: ठीक भएर बस्नुपर्थ्यो। अहिले ट्र्याकमा गाउँदा अलिकति बिग्रिएको पनि मिलाउन सक्छन्। त्यसले गर्दा कलाकारमा साधनाको कमी आयो। ‘ए भइहाल्छ!’ भन्ने भावनाले साधनामा कमी आएको छ। प्रविधिले त्योचाहिँ बिगारेको जस्तो लाग्छ। हाम्रो समयमा हामी पूर्णत: तैयार भएर गाउँथ्यौं।’ ‘प्रसिद्ध गायिका अरूणा लामासित यहाँको सम्बन्ध र उहाँको साङ्गीतिक जीवनका कुराहरू जान्ने हामी लोभ राख्छौं।’ यो  निवेदनलाई उहाँको स्वीकृति, ‘दिदी अरूणा लामाबारेमा भन्नुपर्दा दिदी र म चेली माइती। मैले तेंत्तीस वर्ष उनको हातको भाइटिका लगाएँ। दिदीको गायनबारे भन्नुपर्दा, अरूणा लामा दिदीलाई सबैले भन्थे, ‘व्यथाकी रानी, वेदना गाउने गायिका’ आदि भनेर। तर वास्तवमा अरूणा लामा दिदीचाहिँ भर्सटायल सिंगर हुन्। पहिले शरण दाज्यूका गीत-सङ्गीतमा पनि उनले रोमान्टिक गीतहरू गाएकी छन्।  त्यसैकारण मैले ‘हाँगाहाँगा वनभरि…’ भन्ने हरिभक्त कटुवालको शब्द रचना दिदीलाई गाउन दिएर उनी दु:खका गीतहरूमात्र गाउने होइनन् तर रोमान्टिक गीतहरू पनि त्यतिकै कुशल गाउन सक्छिन् भनेर प्रमाण गरिदिएको हुँ। दिदीसित गुण के थियो भने उनी जस्तै गीत पनि गाउन सक्ने क्षमताकी थिइन्। तर सबैले उनलाई व्यथाका गीतहरूमात्रै गाउन लगाए। उनको जीवन पनि त्यस्तै भयो। राजेन्द्र थापाले ‘पोहोर साल खुशी फाट्दा…’ गीत लेखे। पोहोर साल दिदिकी बाबा खसेका थिए, फेरि उनकी आमा पनि बितेकी थिइन्, अर्को साल उनका पतिको नै देहान्त भयो। अरूणा दिदी गीतकारलाई गीत लेख्ने स्रोत पनि बन्न सकेकी यस गीतले प्रमाणित गर्छ। सबभन्दा ठूलो कुरो उनको अद्वितीय गायन क्षमता हो। अरूणा दिदीको स्वर अत्यन्त मीठो थियो। उनको टोनल क्वालिटी अरू कसैसित तुलना गर्न सकिँदैन।’

गायक-सङ्गीतकार मणिकमल छेत्रीज्यूले सङ्गीत क्षेत्रमा अरू विशेष कामहरू पनि गरेका छन्। आफ्ना कार्यहरूबारे बताउनुहुँदै उहाँ,‘केही प्रमुख कामहरूमा मैले सङ्गीतकार शान्ति ठटाल दिदीसित क्यान्टाटा गरेको छु। दार्जीलिङमा गीति नाटक हराइसकेको थियो। कर्म दाज्यूले ‘म्हेन्दू’ गर्नुभयो, बद्री-दुर्गाले पनि गरेका हुन्। शान्ति ठटाल दिदीले उता गान्तोकमा धेरै गरिन् अनि मैले दार्जीलिङमा लगालगी बाह्रवटा गीति नाटकहरू गरेको छु जसमा मनबहादुर गुरूङको ‘सुनकेशी रानी’, सिद्धिचरण श्रेष्ठको ‘उर्वशी’, शिवकुमार राईको ‘डाँफे चरी’, देवकोटाको ‘लूनी’ आदि छन्। ‘डाँफे चरी’ सिक्किममा पनि मञ्चन गर्‍यौं साथै आकाशवाणी गान्तोकमा रेकर्ड गरेर प्रसारण गर्‍यौं। भविष्यमा अझै अरू गीतिनाटकहरू गर्छु भन्ने सोचेको छु। म त के चाहन्छु भने ‘मिनी क्यन्टाटा’ गरौं, लामो पनि होइन आधा घण्टा वा पैंतालिस मिनटको। यस्ता कामहरू हामीले गरेनौं भने कसले गरिदिन्छन् र? मैले धेरै नाटकहरूमा पार्श्‍व सङ्गीतको काम गरें। मनबहादुर मुखियाका नाटकहरूमा पनि सङ्गीतको काम गरें, नाटककार-निर्देशक किरण ठकुरीको नाटकमा गरें, प्रताप सुब्बा दाज्यूको निर्देशनमा प्रकाश कोविदको ‘देवता’ फिल्ममा पनि सङ्गीत निर्देशनको काम  गरें। भिडियो फिल्महरूमा काम गरेको छु जस्तै सादरी भाषाको एउटा भिडियो फिल्म, टेम्पो लेप्चाको ‘सुनको हारी’ आदि।’

मणिकमल छेत्री सङ्गीत क्षेत्रका विशिष्ट नाम हुन्। उनको सङ्गीततर्फको साधना र समर्पणको निम्ति उनी अनेक पुरस्कार र सम्मानहरूले विभूणषित बनिसकेका छन्। विभिन्न सङ्घ-संस्थाहरूबाट पाइएका अगणित अभिनन्दन र प्रशस्ति पत्रहरूसितै उनी स्मरण गरेर बताउँछन्, ‘आफूले पाएको पुरस्कारमा खरसाङबाट पहिलो ‘कमल पुरस्कार’, नेपालबाट ‘छिन्नलता पुरस्कार’, सन्त राफेल इन्सटिट्यूट अनि हरिभक्त कटुवाल गुठी दार्जीलिङले प्रदान गरेका ‘सङ्गीत सहचर’-को उपाधिसितै जी.टी.ए. दार्जीलिङबाट प्रतिष्ठित अरूणा लामा स्मृति पुरस्कार आदि छन्।’

सङ्गीत क्षेत्रमा लागिपरेका नयाँ कलाकारहरूलाई विशिष्ट गायक-सङ्गीतकार मणिकमल छेत्रीज्यूको सुझाउ र सल्लाहहरू, ‘भाइ बहिनीहरूलाई मेरो यही सुझाउ सल्लाह छ गुरुबिना ज्ञान हुँदैन यसकारण एकजना राम्रो गुरु राखेर सिक्नुपर्‍यो। सङ्गीतको निम्ति निरन्तरता र साधना अति नै आवश्यक कुराहरू हुन्। धैर्य पनि हुनुपर्‍यो। शास्त्रीय सङ्गीतलाई पनि अलिक बुझेर आधुनिकमा आएकोचाहिँ राम्रो हो। एकैचोटि आधुनिकमा आएको राम्रो होइन। शास्त्रीयचाहिँ धरातल हो। त्यसमा ताल, लय र सुरहरूको ज्ञान हुनुपर्‍यो। यी सब कुराहरू भएपछिचाहिँ गीत राम्रो बनिन्छ। यी कुराहरू ध्यानमा राख्नु आवश्यक छ।’

***

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *