तीनधारे महानदी समष्टि स्तरीय फूलपाती शोभायात्रा समारोह अनि लोक नृत्य प्रतियोगिता सम्पन्न

IMG_20221002_180423.jpg

लोक नृत्य प्रतियोगितामा नयाँ कमान प्रथम


खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको बीस माइलस्थित स्मृति वनमा तीनधारे महानदी समष्टी स्तरीय फूलपाती शोभायात्रा समारोह अनि लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ। तीनधारे महानदी समष्टि स्तरीय फूलपाती समारोह समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको शुरुवात फूलपाती शोभायात्रा र विभिन्न झाँकीहरूका साथमा तीनधारेको शंकरनिवासस्थित ब्रम्हामन्दिर प्राथमिक पाठशाला परिसरमा शुरु गरिएको थियो। उक्त फूलपाती शोभायात्रा बीस माइलस्थित स्मृति वनमा पुगेर फूलपाती समारोह अनि लोक नृत्य प्रतियोगितामा परिणत भएको छ।

उक्त कार्यक्रम बिक्रम मंगरको अध्यक्षता र लामा म्हेम्हे स्याङदेन लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रमलाई नवराज राई र युवराज सुन्दासले सञ्चालन गरेका थिए। नवराज राईले स्वागत सम्भाषण राखेको कार्यक्रममा शुरुमा नै गत २६ सेप्टेम्बरको दिन एक सय वर्षको जन्मदिन मनाएका सिविटारको बाघमारा बस्ती निवासी चन्द्रवीर लामा उर्फ स्याङदेन म्हेम्हेलाई आयोजक समितिको पक्षबाट नागरिक सम्मान जनाइएको थियो। कार्यक्रममा सम्पन्न लोक नृत्य प्रतियोगितामा तीनधारे महानदी समष्टिको जम्मा १९ वटा संघ संस्थाहरूले भाग लिएका थिए भने झाँकी प्रदर्शनी प्रतियोगिता १७ वटा संघ संस्थाहरूले सहभागिता जनाएका थिए। दुवै प्रतियोगितामा निर्णायकको रुपमा वरिष्ठ पत्रकार सञ्जय प्रधान, अनिता रसाईली र जमुना शर्मा उपस्थित रहेका थिए। यस प्रतियोगिता अन्तर्गत लोक नृत्य प्रतियोगितामा ग्राम कल्याण समिति नयाँ कमान प्रथम, फ्रेण्डस् क्लब सिपाहीधुरा दोस्रो अनि प्रगति संघ मिठाई डाँड़ा तेस्रो भएका छन्। त्यसरी नै झाँकी प्रदर्शनी प्रतियोगितामा प्रथम जनसेवा संघ राजबारी, दोस्रो नवज्योति संघ चुनभट्टी र तेस्रो प्रगति संघ मिठाई डाँड़ा भएको छ। कार्यक्रममा तीनधारेको गैरी गाउँस्थित गोदावारी संघद्वारा मालश्री प्रस्तुत गरेका थिए।

यसै कार्यक्रममा तीनधारे वरिष्ठ नागरिक कल्याण संगठनको पक्षबाट तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीलाई सम्मान जनाइएको छ। त्यसरी नै तीनधारेको १७ माइल निवासी अनिस माझी र मनिस माझीलाई पनि सम्मान गरिएको छ। कार्यक्रम विषयमा फूलपाती समारोह समितिको सचिव युवराज सुन्दासले पत्रकारहरूसित कुराकानी गर्दै जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *