३१औं नेपाली भाषा मान्यता दिवस: मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा शुभकामना

photocollage_2022819224738579.jpg

गान्तोक: ३१औं नेपाली भाषा मान्यता दिवसको शुभ अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमेली जनसमुदाय साथै विश्वभरी छरिएर बसेका सम्पूर्ण नेपाली भाषी जनमानसमा हार्दिक बधाई अनि शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘कुनै पनि जातिको परम्परा, उन्नति, सभ्यता तथा अस्तित्व सोझै त्यस जातिका भाषा-साहित्यमा निर्भर पर्दछ। भाषा आन्दोलनसॅंग सम्बन्धित भाषा साहित्य विज्ञ अग्रजहरुको जति प्रसंशा गरे पनि कम नै हुन्छ जस्तो मलाई लाग्दछ। भाषा-संघर्षको लामो समयावधिमा अथक अनि अविरल योगदान पुऱ्याउनु हुने सम्पूर्ण भाषा प्रेमी महानुभावहरुमा हार्दिक अभिनन्दन चडाउँदै अन्तर हृदयबाट नमन गर्न चाहन्छु।’

भाषाप्रेमीहरूले गरेका कठीन परिश्रम आज हाम्रो निम्ति एउटा प्रेरणाको अनमोल श्रोत बनेको उनले बताएका छन्। उनले भनेका छन्, ‘हाम्रो भाषा हाम्रो अनमोल विरासत हो भने यसको रक्षा गर्दै समृद्ध बनाउनु हाम्रो परम कर्तव्य हो।’ मुख्यमन्त्रीले भाषाको उत्थानमा संलग्न रही विविध साहित्यिक विधाहरुमा सदा सक्रिय रहने प्रेरणाका साथै हौसला दिएका छन्।

उनले अझ भनेका छन्, ‘हाम्रो आत्मीय भाषा देशको संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त हुनु भनेको हामी सबैको शिर उच्च हुनु हो। यो महत्वपूर्ण भाषा दिवस अथवा २० अगस्तको दिनलाई सम्मान गर्दै यसपाली देखि राज्य सरकारले औपचारिक विदाको घोषणा गरेको छ। आज, भाषा मान्यता प्राप्तिको ३१औं संघारमा प्रवेश गर्दा, हामीलाई गौरवान्वित महशुश भइरहेको छ, हामी बेहद खुशी छौं। हामीलाई यो खुशी प्रदान गर्नमा परिलक्षित, दिनरात एकगरि खटिनुभएका सम्पूर्ण भाषा-प्रेमी महानुभावहरुमा पुनः हार्दिक कृतज्ञता अनि सादर अभिनन्दन चडाउन पाँउदा म स्वयंलाई पनि सौभाग्यशाली ठान्दछु।’ उनले सबैमा आरोग्य, सुख-शान्ति, समृद्धि अनि उत्तरोत्तर प्रगतिको हार्दिक, मंगलमय शुभकामना व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *