सिलगढी: दिनांक १९ अगस्ट २०२२ मा दिल्लीको कन्स्टिट्युशनल क्लबमा सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय नागरिक अधिकार परिषद्ले अनिता छेत्रीलाई सामाजिक सेवा कार्यका लागि सम्मान गर्दै शुक्रब्रार अन्तर्राष्ट्रिय इन्डो–नेपाल अवार्ड–२०२२ (उत्कृष्ट सामाजिक कार्यकर्ता) द्वारा सम्मानित गरिएको छ। अनिता छेत्री पेशाले पत्रकार भए पनि विगत केही वर्षदेखि समाजसेवामा पनि सक्रिय छिन्। चेलीबेटी बेचबिखनविरुद्ध आवाज उठाउने, भाषा संस्कृति जोगाउने, सुर स्वर्ग, कोरियोग्राफीलगायतका कार्यक्रमलाई सफलताका साथ संचालन गर्ने, कोभिड अवधिमा जनताको सेवा गर्ने जस्ता काम निकै महत्वपूर्ण छन्।
अनिता छेत्री ‘हाम्रो स्वाभिमान ट्रस्ट’की महासचिव हुन् र यो संस्थाले नेपाली भाषा, साहित्य, कला र संस्कृतिलाई स्वदेश तथा विदेशमा जगाउनका साथै समाजसेवामा अग्रगामी भूमिका निर्वाह गर्दै आएको छ। संस्थाले हरेक वर्ष दिल्लीको ताल्कोटोरा रंगशालामा आयोजना गर्ने हरितालिका तीज महोत्सव उत्कृष्ट उदाहरण हो र अनिता छेत्रीको नेतृत्वमा मनाइने यो पर्व यो वर्ष निकै अनौठो र ठूलो छ। उनीसँगै योग गुरु श्री शिवलाल गँवाली, सुश्री दिपंजलि छेत्री र रिजवान रजालाई पनि सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय नागरिक अधिकार परिषद्ले अन्तर्राष्ट्रिय इन्डो–नेपाल अवार्ड–२०२२ (उत्कृष्ट सामाजिक कार्यकर्ता) बाट सम्मानित गरेको थियो।