कवि उदय दुमीको कविता संग्रह चियाबारीको मोह विमोचन

IMG_20220816_152826.jpg

किताबले बोकेको विषय वस्तु हाम्रो लागि खास कुरा हो तर त्यसको खोल र आवरण होइन: बिमल राई

खरसाङ: खरसाङका कवि उदय दुमीको चियाबारीमाथि लेखिएको कविता कृति ‘चियाबारीको मोह’ आज खरसाङमा विमोचन गरिएको छ। हिमालय दर्पण खरसाङ शाखा कार्यालयमा सम्पन्न एक कार्यक्रमबीच उनको उक्त कविता कृतिको विमोचन गरिएको छ। उदय दुमीको उक्त कविता कृतिको विमोचन कार्यक्रम पण्डित तुलसी अधिकारीको अध्यक्षता र सूचना अनि सांस्कृतिक विभागको सह निर्देशक एंव वरिष्ठ साहित्यकार बिमल राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट साहित्यकार ऋषि राई, दिपेन प्रधान र प्रकाशक लाशा शेर्पा उपस्थित रहेका थिए। दिपक ठटाल जलनद्वारा सञ्चालित उक्त कार्यक्रममा कवि उदय दुमीको परिचय कवि एंव पत्रकार हनोक थापाले राखेका थिए। कार्यक्रममा कवि उदय दुमीको पहिलो कविता कृति ‘चियाबारीको मोह’ सभाध्यक्ष तुलसीप्रसाद अधिकारी, प्रमुख अतिथि बिमल राई, विशिष्ठ अतिथिहरू क्रमैले ऋषि राई, दिपेन प्रधान, प्रकाशक लाशा शेर्पा र कवि उदय दुमीको बाहुलीबाट लोकार्पण गरिएको छ। कार्यक्रममा कविता कृति चियाबारीको मोहमाथि ऋषि राईले आफ्नो टिप्पणी राख्दै उदय दुमी भारतीय नेपाली साहित्यको नौलो नाम होइन तर उनी लामो समयदेखि लेख्दै आएका कवि हुन् भनी बताएका छन् । उनले चियाबारीमाथि लेख्नेहरूमा कवि उदय दुमी खाँटी हुन् भन्दै आज विमोचन भएको कृति लामो कविता भएको कृति हो भनी बताएका छन्। कार्यक्रममा कवि उदय दुमीले यो कविता कृति प्रकाशनमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै यो कविता भयो कि भएन सबै पाठकहरूलाई जिम्मेवरी सुम्पेको छु भनी बताए। उनले आफ्नो लेखनमा हौसला र प्रेरणा दिने सबैप्रति आभार प्रकट गर्दै आगामी दिनमा पुन: दुईवटा कृतिहरू लिएर आउने बताएका छन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वरिष्ठ साहित्यकार एंव सूचना अनि सांस्कृतिक विभागको सह निर्देशक बिमल राईले कवि उदय दुमीको कविताहरू पढ़दै आएको र उनीभित्र धेरै सम्भावनाहरू रहेको र उनमा एक विचारक रहेको बताएका छन्। राईले चियाबारीले हामीलाई किन तान्छ र किन पक्रिरहन्छ सदैव भन्दै अब हामीले काम गर्दा भेटघाट मात्रै होइन तर केही ठोस कार्य गर्नु पर्ने र केही कारक तत्त्व लिएर आउनु पर्ने पनि हुन्छ जसले गर्दा समाधानको बाटो खोलियोस् बताएका छन्। बिमल राईले हामीसित चियाबारी साहित्य छ भन्दै म प्रशंसक होइन तर पाठकीय सचेतकको रूपमा हेर्न चाहान्छु यस कृतिलाई भनी बताएका छन्। राईले अघि भने- ‘हामीलाई चियाले नै अन्तर्राष्ट्रीय स्तरमा चिनाएको छ र चियाबारीको कन्टेन्टमा इतिहास पनि बोकेको छ र हामीले चियाबारी साहित्यमाथि अन्तरक्रिया गर्नु आवश्यक रहेको पनि बताएका छन्। उनले साहित्यिक तत्त्वहरूको दृष्टिले किताबालाई हेरिन्छ तर अहिलेघरि कन्टेन्ट इज द् किङ भन्दैछ। किताबले बोकेको विषय वस्तु हाम्रो लागि खास कुरा हो तर त्यसको खोल होइन, त्यसको आवरण होइन, किताब मोटो वा पात्लो होइन तर किताबको कन्टेन्ट चाहिन्छ।’ बिमल राईले भने अनुसार कतिजनाले साहित्यलाई मनोरञ्जनको रुपमा कला हो भन्दै हल्का लिने गर्छन् तर साहित्य तेति हल्का हुँदैन भनी बताएका छन्। कार्यक्रममा प्रकाशक लाशा शेर्पा र सभाध्यक्ष तुलसीप्रसाद अधिकारीले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन दिपक ठटाल जलनले गरेका थिए। कार्यक्रममा पत्रकार, कथाकर एंव गजलकार सुवास छेत्री भावुक, कवि दिल थापा, कवि शम्भु राई, बिमल राई पनि उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *