भारतीय राष्ट्रध्वज

0-1a-IMG-20220814-WA0097

दिवाकर प्रधान-

भारतको राष्ट्रिय ध्वजलाई तिरङ्गा पनि भनिन्छ। तीन रङ्गका क्षैतिज पट्टी (horizontal bar)-को बिचमा नीलो रङ्गको एउटा चक्रद्वारा सुशोभित ध्वज भारतीय राष्ट्रिय ध्वज हो। यसको प्रारम्भिक अभिकल्पना पिङ्गली वैङ्कैयाले गरेका थिए। त्यसको बिचमा चर्खा थियो। त्यो थियो भारतीय राष्ट्रिय काङ्ग्रेसको झण्डा। पछि १५ अगस्त १९४७-का दिन अंग्रेजबाट भारत स्वतन्त्र हुनका केही दिनअघि २२ जुलाई, १९४७-मा आयोजित भारतीय संविधान-सभाको बैठकमा अँगालिएको झण्डाचाहिँ त्यस बेलाकी भारतीय सिभिल सेवा (ICS) अधिकारी सुरैया बदरुद्दीन तैयबजीले डिजाइन गरेकी थिइन्। यसको बिचमा अशोक चक्र छ। यसमा तीनवटा समान चौड़ाईका क्षैतिज पट्टी छन् – सबैभन्दा माथि केसरी रङ्गको पट्टीले देशको सामर्थ्य र साहस दर्शाउँदछ, बिचमा धर्मचक्रसहित सेतो पट्टी  शान्ति र सत्यको सङ्केत  छ अनि तलतिर गहिरो हरियो रङ्गको पट्टीले देशको शुभ, विकास र उर्वरतालाई दर्शाउँदछ। ध्वजको लम्बाई एवं चौड़ाईको अनुपात ३:२ छ। चक्रको व्यास सेतो पट्टीको चौड़ाईबराबर हुँदछ। यसको रूप सारनाथमा स्थित अशोक स्तम्भका सिंहको शीर्षफलक चक्रजस्तै छ। 

संसारका सबै देशका राष्ट्रध्वज आयताकार (rectangular) छन्। अपवादमा नेपालको राष्ट्रध्वज दुइटा एकल त्रिभुजाकार (two single pennons) छ भने स्विजरल्याण्ड र भेटिकन सिटीका झण्डा बराबर चारपाटे (समचतुर्भुज / square) छन्। पहिलेको कांग्रेसी राष्ट्रिय झण्डामा चर्खा (प्रगति प्रतीक)सहित रातो र सेतो हिन्दू-मुसलमान एकताको प्रतीक ग्रहण गरिएको थियो। पछि चरखाको ठाउँमा चक्र राख्ने सुझाव जालन्धरका कांग्रेसी नेता आर्यसमाजी हंसराजले दिएका थिए। अन्तिम रूप सुरैयाले दिइन्। पिङ्गली वैङ्कैया (१८७६-१९६३) त्यस बेलाका कृषि वैज्ञानिक थिए। लाला हंसराज (महात्मा हंसराज) (१८६४-१९३८) अविभाजित भारतको पञ्जाबको आर्यसमाजका एकजना प्रमुख नेता एवं शिक्षाविद् थिए। पञ्जाबभरि दयानन्द एङ्लो वैदिक विद्यालय स्थापना गर्नाले उनको कीर्ति अमर छ। एकजना अंग्रेज इतिहासकार ट्रेवर रोयलले उनको ग्रन्थ ‘द लास्ट डेज अब् राज’-मा भारतको अन्तिम राष्ट्रिय ध्वज सुरैया तैयबजीले बनाएकी थिइन् लेखेका छन्। 

बदरुद्दीन फैज तैयबजी (१९०७-१९९५) एकजना वरिष्ठ भारतीय सिविल सेवा अधिकारी थिइन्। उनले १९६२-देखि १९६५-सम्म अलीगढ़ मुस्लिम विश्वविद्यालयकी कुलपतिका रूपमा कार्य गरेकी थिइन्। सेवाकालमै १९४८-मा एकजना राजनयिकका रूपमा उनले भारतीय दूतावास ब्रुसेल्स थालनी गरिन्। उनले जकार्ता, तेहरान , बर्न र टोक्योमा भारतीय राजदूतका रूपमा पनि काम गरेकी थिइन्।

स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका झण्डामा अन्तर:

संस्कृतको दण्डबाट झण्डा शब्द बनिएको हो। संस्कृतको दण्ड त लौरो वा लट्ठी आकार भएको वस्तु हो। उदाहरणका लागि योग्यता, गुण, वैशिष्ट्य नाप्ने लट्ठी मानदण्ड, लौरोलाई दण्डिका र ट्युब लाइटलाई विद्युत दण्डिका भन्ने गरिन्छ। आधुनिक भारतीय भाषामा झण्डा भनेको डन्डाका टुप्पोमा झुन्ड्याएर वा बाँधेर कुनै संस्था वा दल वा देशको चिह्नका रूपमा राखिने लुगाको टुक्रा झण्डा हो। यसलाई  ध्वज वा ध्वजा वा धजो वा पताका पनि भनिन्छ। 

स्वतन्त्रता दिवस १५ अगस्त र गणतन्त्र दिवस २६ जनवरीमा राखिने झण्डामा अन्तर छन्। अन्तरलाई स्थितिअनुसार भेद वा भिन्नता वा बेग्लै वा छुट्टै पनि भन्दा हुन्छ तर फर्क्-चाहिँ हाम्रो शब्द होइन। हाम्रोमा फर्क शब्दको अर्कै अर्थ लाग्दछ : उ. : यता फर्क। 

पहिलो अन्तर:

१५ अगस्त स्वतन्त्रता दिवसको अवसरमा झण्डालाई तलबाट डोरीले तानेर माथि लगिन्छ, तब खोलेर फहऱ्याइने गरिन्छ, यसलाई ध्वजारोहण वा झण्डोत्तलन वा flag hoisting भनिन्छ किनभने यो १५ अगस्त १९४७-को ऐतिहासिक घटनालाई सम्मान दिनलाई गरिन्छ। उत्तोलन वा रोहण वा आरोहण भनेको चढ्नु वा चढाइनु हो – to climb or to raise।  त्यस दिन प्रधानमन्त्री महोदयले तलको झण्डा टुप्पोतिर चढाएका थिए। अंग्रेजी भाषामा लेखिएको संविधानमा यसलाई Flag Hoisting र संस्कृतमा ध्वजारोहण भनिएको छ। hoisting भनेको उठाउनु वा चढाउनु हो। 

अर्कोतिर

२६ जनवरी गणतन्त्र दिवसको अवसरमा झण्डा माथि टुप्पोमा बाँधिएको हुँदछ, त्यसलाई खोलेर फहऱ्याइन्छ, संविधानमा यसलाई Flag Unfurling  र संस्कृतमा पताका प्रसारण भनिन्छ। furling भनेको बाँधिएको वा बटारिएको हो, unfurling भनेको खोलिनु वा उघारिनु हो। flag unfurling भनेको झण्डा उघारिनु हो- पताका प्रसारण। झण्डा उघार्नु भनेको देशको सन्देश छरिनु भन्ने प्रतीकात्मक अर्थ बुझ्नु पर्दछ। 

दोस्रो अन्तर:

१५ अगस्तको दिन केन्द्र सरकारका प्रमुख प्रधानमन्त्री महोदयले ध्वजारोहण गर्दछन्, किनभने स्वतन्त्रता (१९४७)-का दिन भारतको संविधान लागु भएकै थिएन अनि केन्द्र सरकारका प्रमुख माननीय राष्ट्रपति महोदयले पदभार ग्रहण गरेका थिएनन्। अचेलचाहिँ एक दिनअघिको बेलुकी अर्थात् स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा माननीय राष्ट्रपति महोदयले आफ्नो सन्देश राष्ट्रको नाममा प्रसारण गर्दछन्। तर २६ जनवरी १९५० अर्थात् गणतन्त्र दिवस देशमा संविधान लागु भएको उपलक्ष्यमा मनाइन्छ, यस दिन संवौधानिक प्रमुख माननीय राष्ट्रपतिले एकैचोटि माथि राखिएको झण्डा फहराउँदछन्। यसलाई संस्कृतमा ध्वज प्रसारण वा पताका प्रसारण भनिन्छ। 

तेस्रो अन्तर:

स्वतन्त्रता दिवसका दिन लाल किल्ला (रातो गढी)-बाट ध्वजारोहण गरिन्छ। तर गणतन्त्र दिवसका दिन राजपथमा झण्डा फहराइन्छ, अत: ध्वज प्रसारण भनिँदछ।

ध्वज संहिता:

पहिले राष्ट्रध्वज निश्चित पदाधिकारी वर्गले वा विशेष कार्यालय र दिनमा मात्र फहराउने नियम थियो। २६ जनवरी २००२-का दिन भारतीय ध्वज संहितामा संशोधन गरीकन भारतका नागरिकहरूका आफ्ना घर, कार्यालय र फ्याक्ट्री आदि संस्थानमा राष्ट्रीय दिवसहरूमा मात्र नभई कुनै पनि दिन बिना कुनै रोकटोक फहऱ्याउने अनुमति प्राप्त भयो। तर सँगसँगै ध्वजको संहितालाई कड़ासित पालन गर्नुपर्दछ अनि राष्ट्रध्वजको सम्मानमा कुनै लघुता आउनदिनु हुँदैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *