(कथा)  वासन्ती

वासन्ती

निलीमा आचार्य, काउडीपथार, विश्वनाथ, असम

मदनपुर स्टेसनको रेलवे प्लेटफ्रमको पक्काको बेन्चमा बसेर ट्रेनलाई पर्खिरहेका हुन्छन् सूर्यकान्त। शिक्षक सूर्यकान्त। त्यत्तिकैमा बस्ने ठाउँ खोज्दै एउटी युवती त्यहाँ आइपुग्छे। ऊ यात्रीहरूका बिचमा भएको एउटा खाली बेञ्चमा गएर बस्छे। गहुँगोरी, होचो कदकी, खँदिली युवती। उसको उमेर लगभग सत्र-अठार हुनुपर्छ। तर उसलाई देख्दा उमेर खाएकी केटीझैँ लाग्छ। उसका अनुहारमा कोरिएका धैर्यका रेखाहरूले उसलाई समयभन्दा धेरै पहिल्यै परिपक्व बनाएको होला। शायद, उसको शान्त अनुहारले धेरै सुनामी झेलेको छ!

सूर्यकान्त सधैँ स्टेसनमा आउँछन्, उसलाई देख्छन् अनि राम्ररी निरीक्षण गर्छन्। मान्छेलाई  पढ्ने, मान्छेको हाउभाउ, चालचलन पढ्ने उनको बानी भइसकेको छ। यो कार्यले उनलाई सेतो पन्नामा अनुभवका रङ पोत्न धेरै सहयोग गर्छ। सुन्दा र देख्दा अचम्म लागे तापनि यो पनि एउटा राम्रो अध्ययन हो। मानिसको आचरणको अध्ययन, मानव मनोविज्ञानको अध्ययन। यसो गर्दा कोहीबेला सूर्यकान्त लान्छित पनि भएका छन्। कतिले उनको व्यक्तित्वबारे गलत टिप्पणी पनि गर्छन् ।तर उनलाई केही फरक पर्दैन। Just he likes to observe the people in crowd and in public places which helps him to pour different thoughts in white page.

त्यो केटी सधैँ उदास देखिन्छे। उसका ओठमा  कहिल्यै मुस्कान छरिएको देखिँदैन। तर ऊ कसैलाई रुन भने दिन्न। शान्त, सरल, अटल छे ऊ। वासन्तीलाई यत्तिका दिनसम्म देख्दा यो कुरा उनलाई ज्ञात भइसकेको थियो कि ऊ सहज, सरल, कोमल मन गरेकी केटी हो जसमा चञ्चलता, बैँशमा आउने एउटा उत्ताउलो पन केही नै देखिँदैन। आखिर किन? ऊ मनमनै आफैलाई प्रश्न गर्छन्।

आज पनि ठिक त्यही समयमा ऊ आएकी छ। ऊ कहाँ जान्छे, के गर्छे, उनी केही जान्दैनन्। तर उसको सधैँको पहिरनले ऊ कुनै स्कुल अथवा कलेजकी छात्रा हो भन्ने सूचना दिन्छ।

‘‘बाबू त्यो झरेको चिज नखाऊ! म तिमीलाई अर्को दिन्छुl’’

‘‘झरेको चीज खानु हुन्न बाबूl’’ एउटा सानो आदिवासी केटालाई उद्देश्य गर्दै उसले भनी। यस्तो मिठो बोली भएकी केटी किन हाँस्दिन? किन उसको अनुहारमा उदासका धर्सा कोरिएका छन्? अनेक प्रश्नहरू तेर्छिए सूर्यकान्तका अघि। यी प्रश्नहरूको उत्तर माग्न उनमा अदम्य चाहना जाग्यो। के भनेर सोध्नु! के सोच्ने हो उसले भन्दै उनले अग्रसर भएका पाइलाहरू फेरि पछि सारे। धेरैदिन भयो त्यो केटी ट्रैनमा चड्न आएकी छैन। सूर्यकान्तको मन विचलित भएको छ। के भयो होला वासन्तीलाई? कहाँ हराई उनकी त्यो मौन सहयात्री। उसको त्यो शान्त अनुहार उनको सामु आइरह्यो। के भयो होला आखिर त्यो बालिकालाई?

स्कूलमा वासन्तीको कुरा सोची रहेका हुन्छन् उनी—-!

 ‘ सर आजको पेपर पढ्नुभयो? छि: के दिन देख्नु पर्‍यो हेर्नू!’

सहकर्मी गणेशको आवाजमा ऊ झस्किए। अनि आत्तिँदै पेपर पल्टाए। पेपरमा बेनर हेडलाइनमा लेखेको थियो ‘तामुलबारी हायर सेकन्डरी स्कुलकी एघारौँ कक्षाकी छात्राले एउटी मृत कन्या सन्तानलाई प्रसव गरिन्! कक्षामै पीडा आरम्भ हुनाले विद्यालयका कर्मचारीले १०८ बोलाएर निकटतम् अस्पतालमा भर्ना गराउछन्। त्यहीँ उसले एउटा मृत सन्तान प्रसव गर्छे। स्कुल अति लज्जित छ। वासन्तीले यत्तिका दिनसम्म यो कुरा लुकाएर राखी। उसलाई स्कुलले—-l’ समाचारबाट थाहा हुन्थो – यो त्यही वासन्ती हो जसलाई ऊ सधैँ स्टेसनमा भेट्ने गर्थे।

अरू के लेखेको थियो उनले पढ्न सकेनन्। ऊ वासन्तीको शान्त अनुहार सम्झिन थाले। कस्तो पीडा सहेकी रहिछ वासन्तीले! कसले उसको गरिबी र सोझोपनको फाइदा लियो? किन उसले दोषीको कुरा कसैलाई भनिन्? यतिदिन ऊ कसरी स्कुल आई? यस्ता अनेक प्रश्नहरूले उनलाई घेरेझैँ लाग्यो। नारीलाई मात्र दोषी ठहराउने हाम्रो समाजले वासन्तीलाई न्याय देला?  उनले अठोट गरे – चाँडै हाम्रो गाउँको छेउमा भएको ‘सुरक्षा’ ( पीडित महिलाको आश्रय केन्द्र) की सचिवलाई यस सन्दर्भमा  कुराकानी गर्ने छु। उनी स्कूलबाट निस्किएर आए। बाटैभरि भएका ‘बेटी बचाओ, बेटी पढाओ’ साइडबोर्डका अक्षरहरू आज उनी धमिरा देखिरहेका छन्। बाटै भरी भेटेका आफ्नै कलिला छात्राहरूलाई आज उनी असहाय, भयभीत हरिणझैँ देखिरहेका छन्। एक हुल ‘वासन्ती’ आएर उनको बाटो छेकेझैँ देखिरहेका छन्।***

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *