युवराज घलेभाइ, गान्तोक सिक्किम
*************
आजकल म
सत्ताको जटिल छायामुनि बाँचिरहेको छु
र हेरिरहेछु
ममाथि बर्सिने बितन्डाहरु
म जे पनि हुनसक्छु
फगत अस्तित्वको भूमि
अथवा यही भूमिमाथिको प्राणी
अहिले म भन्दैछु कि
म देश हुँ कि फगत माटो
अथवा सात समुद्रपारि भनिने
खुनी साम्राज्यको आकाशबाट उड्ने
गिद्दले झैँ आँखा गाडिरहेको स्वर्णभूमि
मेरा वरिपरि किन उड्दै छ
प्रशान्त द्वीपको
कुटिल मनोरथी आततायी यान?
किन आउँदैछ
मेरो माटोमाथि दुःस्वप्नको
बासी सास
अथवा अकालवधमा परेका
लासहरुको सिनोको गन्ध
किन बग्दैछ मेरा वरिपरि?
म आफ्नै शिरमाथि हेरिरहेछु
ममाथि सत्ता बस्छ कि
काला कागहरूको बथान?
आजकल म
सत्ताको मुकुन्डोभित्रको
अनेक रहस्यहरु खोज्दैछु
हेर्छु आफ्नै वक्ष वरिपरि
गम्छु आफैँभित्र
छाम्छु मानिसहरुका धमनी र सुस्त स्पन्दन
आजकल मेरो
मस्तिस्कभरि विचारको बेगले भन्छ
म नागरिकहरुको आश्रय हुँ कि
सत्ताका मतियारहरुले लुछ्ने मांसपेशी
मेरा अङ्गमा किन सलबलाउँदै छन्
भियतनामको चिहानबाट भागेका
सेता जुम्राहरु?
आजकल म
आततायी समयको
भीषण आतंकबाट गुज्रिरहेको छु
आफ्नो अमित गौरवको रक्षामा
खोजिरहेछु भूमिपुत्रहरुको मार्चपास
र सुनिरहेछु सपुतहरुको पार्श्वध्वनि
मेरो मथिङ्गलमा घुमिरहेछ
चेतनाको मौलिक तरंग
र सोचिरहेछु,
ममाथि नागरिकहरुको सत्ता बस्छ कि
कठपुत्लाहरुको मृदङ्ग नाच?
अन्तिम युद्धको मेरो उद्घोष
मै हुँ मेरो वक्षमाथिको शैलाधिपति
म च्यात्छु तमाम असमान संधिसर्पनका
जाली हस्ताक्षरहरु
म आफैँ लेख्छु
मेरो पौरखले भिजेको माटोको कथा
आजकल म सत्ताको
कुरुप छायामा देखिरहेछु
स्खलित विचारका शिखण्डीहरुको
ढोगी दस्तावेजका नक्कली पानाहरु
आजकल म
तमाम सत्ताहरुको बर्खिलाप
एउटा नयाँ जग खानिरहेछु।