कमनवेल्थ गेम्सः कुश्तीमा बजरंग, साक्षी र दीपकले जिते स्वर्ण पदक

IMG-20220806-WA0076.jpg

६ अगस्तः राष्ट्रमण्डल खेलहरू (कमनवेल्थ गेम्स)-का आठौं दिन भारतको निम्ति यादगार रह्यो। कुश्तीमा बजरंग पूनिया, साक्षी मलिक र दीपक पूनियाले स्वर्ण पदक जिते। यसरी नै अंशु मलिकले रजत पदक जितिन्। दिव्या काकरान र मोहित ग्रेवालले पनि काँस्य पदक जिते। यसरी भारतले शुक्रवार कुश्तीमा मात्र ६ वटा पदक जित्यो। भारतलाई अबेर राति झट्का पनि लाग्यो। भारतीय महिला हकी टीम सेमिफाइनल म्याचमा अष्ट्रेलिया विरुद्ध पराजित भयो। अहिले भारतसँग ९ वटा स्वर्ण, ८ वटा रजत र ९ वटा काँस्यसहित जम्मा २६ वटा पदक रहेको छ। पदक तालिकामा भारत अहिले पाँचौं स्थानमा रहेको छ।

कुश्तीमा दीपक पूनियाले ८६ किग्रा फ्रीस्टाइलमा पाकिस्तानका मोहम्मद इनामलाई ३-०-ले पराजित गरी स्वर्ण पदक जिते। यसअघि उनले सेमिफाइनलमा कनाडाका मुरे-लाई ३-१-ले पराजित गरेका थिए। यसरी नै क्वार्टर फाइनलमा शेकू कससेगबामा विरुद्ध १०-०-ले जीत हासिल गरेका थिए। महिला पहलवान साक्षी मलिकले ६२ किग्रा वर्गको फ्रीस्टाइल फाइनलमा कनाडाकी गोडिनेज गोञ्जालेजलाई पराजित गरिन्। यसरी उनले पहिलोपल्ट राष्ट्रमण्डल खेलहरूमा स्वर्ण पदक जितिन्। ओलम्पिक पदक विजेता साक्षीले विपक्षी पहलवानलाई चित् (पिन) गरेर ४ पोइण्ट हासिल गरिन् अनि खिताबी लड़ाइँ जितिन्। यसअघि उनले २०१४-को राष्ट्रमण्डल खेलहरूमा रजत अनि २०१८-मा काँस्य पदक जितेकी थिइन्। भारतका स्टार पहलवान बजरंग पूनियाले पुरुषहरूका ६५ किग्रा फ्रीस्टाइलमा कनाडाका लचलान म्याकनीललाई फाइनलमा ९-२-ले पराजित गरी स्वर्ण पदक हासिल गरे। यसअघि उनले सेमिफाइनलमा ईंग्ल्याण्डका जर्ज रेमलाई १०-०-ले पराजित गरेका थिए। यसअघि २०१८-को राष्ट्रमण्डल खेलहरूमा पनि बजरंगले स्वर्ण पदक जितेका थिए। यसरी नै २०१४-मा उनले रजत पदक हासिल गरेका थिए।

शुक्रवार भारतकी युवा पहलवान अंशु मलिकले महिलाहरूकी ५७ किग्रा वर्गमा रजत पदक जितिन्। स्वर्ण पदकको लड़ाइँमा उनले नाइजेरियाकी ओडुनायो अदेकुओरोये विरुद्ध हारको सामना गर्नु पऱ्यो। फाइनलमा अंशु ७-३-ले पराजित भइन्। यसअघि अंशुले सेमिफाइनलमा श्रीलंकाकी नेथमी पोरुथोटागेलाई केवल १ मिनट ४ सेकेण्डमा १०-०-ले पराजित गरेकी थिइन्। यसरी नै क्वार्टर फाइनलमा पनि उनले अष्ट्रेलियाकी इरेन सिमोनोडिस विरुद्ध केवल ६४ सेकेण्डमा जीत दर्ता गरेकी थिइन्। यसरी भारतका अन्य दुई पहलवान दिव्या काकरान र मोहित ग्रेवाललाई पनि कुश्तीमा काँस्य पदक हासिल भयो। दिव्याले काँस्य पदकको लड़ाइँ केवल ३० सेकेण्डमा जितिन्। उनले टोंगाकी लिली काकरलाई २-०-ले पराजित गरिन्। यसरी नै मोहितले १२५ किग्रा फ्रीस्टाइलमा जमैकाका एरोन जनसनलाई ६-०-ले पराजित गरे।

यसबीच महिला हकीको दोस्रो सेमिफाइनलमा चाहिँ भारतले अष्ट्रेलिया विरुद्ध शूटआउटमा ३-०-ले हारको सामना गर्नु पऱ्यो। फूल टाइमपछि स्कोर १-१-को बराबरीमा रहेको थियो। शूटआउटमा दुवै टीमलाई ५-५ वटा प्रयास प्राप्त भयो। अष्ट्रेलियाले पहिलो तीनैवटा प्रयासमा गोल गऱ्यो। यसको विपरीत भारतले पहिलो तीनैवटा प्रयासमा गोल गर्न सकेन। नियमित समयमा अष्ट्रेलियाको तर्फबाट रेबेका ग्रेनरले गोल गरिन्। त्यसपछि वन्दना कटारियाले गोल गरी भारतलाई १-१-को बराबरीमा पुऱ्याइन्। यसरी नै लन बल्समा महिलाहरूपछि भारतीय पुरुष टीमसँग पनि स्वर्ण पदक जित्ने मौका रहेको छ। भारतीय पुरुष टीमले पहिलोपल्ट लन बल्सको फाइनलमा स्थान बनाएको छ। शुक्रवार भएको सेमिफाइनलमा भारतीय टीमले ईंग्ल्याण्डको टीमलाई १३-१२-ले पराजित गऱ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *