राष्ट्रमण्डल खेलहरूः जूडोमा २ वटा पदक, काँस्य जितिन् हरजिन्दरले

photocollage_2022821137624.jpg

२ अगस्तः बर्मिंघममा जारी राष्ट्रमण्डल खेलहरू (कमनवेल्थ गेम्स)-मा भारतलाई चौथो दिन तीनवटा पदक प्राप्त भयो। भारतकी जूडो खेलाड़ी सुशीला देवी महिलाहरूकी ४८ किग्रा वर्गको फाइनलमा पराजित भइन्। उनलाई दक्षिण अफ्रिकाकी मिकेला व्हाइटबोडीले पराजित गरिन्। यसरी उनले रजत पदकमै सन्तोष गर्नु पऱ्यो। सुशीलालाई प्री क्वार्टर फाइनलमा बाई प्राप्त भएको थियो जबकि क्वार्टर फाइनलमा उनले मलवीकी बोनीफेसलाई पराजित गरेकी थिइन्। सेमिफाइनलमा उनले मरिशियसकी मोराण्ड विरुद्ध जीत हासिल गरेकी थिइन्। फाइनलमा चाहिँ उनले जीतको लय जारी राख्न सकिनन्। सुशीलाले यसअघि २०१४-को ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा पनि रजत पदक जितेकी थिइन्। यसरी नै २०१९-मा भएको दक्षिण एशियाई खेलहरूमा उनले स्वर्ण पदक जितेकी थिइन्।
जूडोमै विजय यादवले पुरुषहरूका ६० किग्रा वर्गमा काँस्य पदक जिते। उनले साइप्रसका पेट्रोस क्रिस्टोडोलिडसलाई पराजित गरी पदक जिते। यसरी भारतले जूडोमा दुईवटा पदक जित्यो। यादवको शुरुवात असल रहेको थियो। शुरुवाती चरणमा बाई हासिल गर्ने यस खेलाड़ीले प्री क्वार्टर फाइनलमा मरिशियसका विन्सले गनगेयालाई १०-०-ले सजिलै पराजित गरे। त्यसपछि क्वार्टर फाइनलमा अष्ट्रेलियाका काट्ज विरुद्ध हारको सम्मुखीन भए पनि रेपेचेजमा स्कटल्याण्डका मुनरो विरुद्ध खेल्ने मौका पाए। त्यस लड़ाइँमा जीत हासिल गरेपछि यादव काँस्य पदकको निम्ति पेट्रोस क्रिस्टोडोलिडस विरुद्ध खेल्न ओर्लिए अनि १०-०-ले जीतको साथ पदक हासिल गरे।
यसरी नै अबेर राति वेटलिफ्टर हरजिन्दर कौरले महिलाहरूकी ७१ किग्रा वर्गमा काँस्य पदक जितिन्। उनले स्न्याचमा ९३ किग्रा र क्लीन एण्ड जर्कमा ११९ किग्रा ओजन उठाइन्। यसरी समग्रमा २१२ किग्रा ओजन उठाएर उनले तेस्रो स्थान हासिल गरिन्। यस स्पर्धामा ईंग्ल्याण्डकी सारा डेविसले स्वर्ण र कनाडाकी एलेक्सिस एसवर्थले रजत पदक जितिन्। यसबीच भारत र ईंग्ल्याण्डबीच खेलिएको पुरुष हकी म्याच ४-४-ले ड्र रह्यो। एक समय भारत म्याचमा ३-१-ले अघि रहेको थियो। त्यसपछि ईंग्ल्याण्डले असाधारण पुनरागमन गर्दै ४-४-को बराबरी हासिल गऱ्यो। भारतको निम्ति मनदीप सिंहले २ गोल गरे। यसबाहेक ललित उपाध्याय र हरमनप्रीत सिंहले १-१ गोल गरे। यसरी नै बक्सिंगमा अमित पंघाल र मोहम्मद हसमुद्दीनले क्वार्टर फाइनलमा स्थान बनाए। अमितले वानूआतूका नाम्री बेरीलाई अनि हसमुद्दीनले बंग्लादेशका मोहम्मद सलीमलाई पराजित गरी क्वार्टर फाइनलमा स्थान बनाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *